हेम राज रिमाल
भरतपुर, १८ चैत्र :
विश्व ब्यापी रुपमा ‘ट्रेण्डिङ’ मा रहेको नोबल कोरोना भाइरस अर्थात कोभिड १९ र यसैको पुरक बनेको लकडाउनले नेपालमा पनि बहुआयामिक प्रभाव पारेको छ । सरकार, स्वास्थ्यकर्मी र सर्बसाधारण सबैको ‘अर्जुनदृष्टि’ कोरोनामाथि परिरहेकै बेला मौसमी प्रकृतिका अरु रोगहरु अहिले प्राथमिकतामा छैनन् । यसैकारण पनि बिरामीहरुमाथि अन्याय भईरहेको छ । बिरामी आँफुकहाँ तान्न होडबाजी गर्ने निजी अस्पतालहरु धेरैले बिभिन्न बहानामा अहिले पन्छाउँने गरेका घटना थुप्रै छन् । चितवनमा कोरोनाकै उपचारका लागि भनेर अस्थायी अस्पताल पनि सञ्चालनमा छ । यसको प्रभावकारिता र कार्यसम्पादनबारे प्रश्नहरु उठिरहेकै छन् ।
यता केन्द्रिय अस्पतालको मान्यता पाएको भरतपुर सरकारी अस्पतालले सुत्केरी सेवा यथावत राखेको छ भने ओपिडि सेवा बन्द छ । यो अस्पतालले आकस्मिक कक्षलाई अरुबेला भन्दा बढी प्रभावकारी बनाएको देख्न सकिन्छ । बिरामीको केस हेरेर अस्पतालमै बस्नु पर्ने भए ईमर्जेन्सिमै भर्ना गर्ने गरिएको छ । कोरोना आशंकित बिरामीलाई कोरोना बिशेष अस्पतालमा रिफर गर्ने गरिएको छ । लक डाउनको समयमा पनि औसत २ सय बढी बिरामीले यहाँबाट स्वास्थ्य सेवा लिने गरेको अस्पताल स्रोतले चितवनपाटीलाई जानकारी दिएको छ ।
बिरामी, स्वास्थ्यकर्मी र भिजिटर गरी करिब ४ सय जनाको दैनिक चापहुने यो अस्पतालका आधिकारिक दुई क्यान्टिन रुची चमेना गृह र दिदिबहिनी फास्टफुड मध्ये दुबै बन्द छन् । सरकारले लक डाउनको घोषणा गरे पछि पुरानो र नयाँ दुबै क्यान्टिन बन्द भए । सुत्केरीलाई चाहिने जुवानोको रस देखि बिरामी कुरुवा र स्वास्थ्यकर्मीलाई चाहिने खाना, खाजामा पनि लकडाउन लाग्यो यहाँ । त्यहाँ सञ्चालित दुबै क्यान्टिनका सञ्चालकहरुले सल्लाह गरेझैंगरि अपर्झट बन्द गरे । अहिले न त बाहिर यातायात चल्छ, न त भित्र केही खानेकुरा पाईन्छ ! सुत्केरी वार्डमा दुई दिनको बिरामी छोरी र श्रीमतीको कुरुवा बसेका एकले भने –“के गर्ने हजुर, घर टाढा छ, यहाँ सबै बन्द । बाहिर गाडी चल्दैन । साह्रै गह्रो भो । कोरोना भन्दा पनि खानेकुरै नपाएर मरिएला जस्तो भो ।”
स्वास्थ्यकर्मीहरुको पिडा पनि उस्तै छ । ड्युटिमा रहेका एक स्वास्थ्य सहायकले भने –“१२ घण्टा सम्म निरन्तर ड्युटि गर्नु पर्छ, अरु त त्यस्तै हो एक कप चिया पनि खान नपाउँदा गाह्रो हुँदो रहेछ ।” साथै उनले अस्पताल प्रशासन पनि यस विषयमा मौन बसेको देख्दा दुःख लागेको बताए । सजिलोमा मात्र तछाँड मछाँड गरेर ब्यापार गर्ने क्यान्टिन संचालकहरुले एक पटक यो पिडामा पनि सुरक्षाका उपाए अपनाउँदै हातेमालो गर्नुपर्ने साझा स्वर अस्पतालमा गुञ्जियो ।
अस्पतालका दुबै चमेनागृह बन्द हुँदापनि प्रशासन किन मुकदर्शक बनिरहेको होला भन्ने विषयमा मेसु श्रीराम तिवारी संग जिज्ञासा राख्ने हाम्रो प्रयास भने प्राबिधिक कारणवस सफल हुन सकेन ।