डेङ्गीबाट थप २ जनाको ज्यान गयो

काठमाडौं, १३ असोज :

नेपालमा डेङ्गी सङ्क्रमणका कारण ज्यान गुमाउनेको सङ्ख्या ३८ जना पुगेको छ । गएको साउनदेखि आज बिहीवारसम्म डेङ्गीका कारण ज्यान गुमाउनेको सङ्ख्या ३८ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

डेङ्गीको सङ्क्रमण देशभर फैलिएको छ । अहिलेसम्म देशभरका २८ हजार एक सय नौ जनामा डेङ्गी पुष्टि भएको सरकारी तथ्याङ्क छ । प्रदेशगतरूपमा सबैभन्दा धेरै बाग्मतीमा २१ हजार नौ सय ७५ जनामा सङ्क्रमण पुष्टि भएको छ । त्यसपछि लुम्बिनी प्रदेशमा तीन हजार एक सय २५ जनामा सङ्क्रमण पुष्टि भएको छ । यस्तै प्रदेश १ मा आठ सय २९, मधेस प्रदेशमा चार सय १३, गण्डकीमा ६ सय ७७, कर्णालीमा दुई सय ३८ र सुदूरपश्चिम प्रदेशमा आठ सय ५० जनामा सङ्क्रमण पुष्टि भइसकेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

डेङ्गीबाट जोगिने एकमात्रै उपाय भनेको लामखुट्टेको टोकाइबाट नै जोगिनु हो ।

यसैबीच पछिल्लो २४ घण्टामा ४५ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । पीसीआर र एन्टिजेन गरी दुई हजार ६ सय ७८ जनाको नमुना परीक्षण गर्दा ४५ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

यही अवधिमा ७० जना कोरोना सङ्क्रमित निको भएका छन् । पछिल्लो २४ घण्टामा कोरोना सङ्क्रमणका कारण कसैको पनि ज्यान गएको छैन । अब नेपालमा एक हजार ७७ जना कोरोना भाइरसका सक्रिय सङ्क्रमित रहेका छन् ।

 

संबन्धित शिर्षकहरु

आउँदो १५ गतेदेखि नागढुंगा सुरुङमा चल्ने गाडीले शुल्क तिर्नुपर्ने

आजदेखि पर्सिसम्म वर्षा र हिमपात, भारतमा जस्तो हावाहुरी नचल्ने

सिरहामा हवाई फायर गरेर दुई भारतीय नागरिक पक्राउ