भानुभक्त अधिकारी, चितवन, २६ चैत ।
हाल कोभिड् १९ अर्थात् कोरोना भाइरसले विश्वमा नै सनसनी मच्चाइरहेको छ । यो अवस्था हेर्दा सुन्दा लाग्छ विश्व सुतिरहेको छ । कोरोना नियन्त्रणका लागि विश्वका सबै देश आफ्नो शक्तिको भरपुर प्रयोग गरिरहेका छन्, तथापि यसले केही समय अझ दु:ख दिने निश्चित छ । सारा विश्व ठप्प झैं छ, सधैंजसो हतार हुने र दौड धुप गर्ने जमात टक्क अडिएकाे छ । अझ भनौ एक देशमा बिहानको खाना खाइ अर्को देशमा बेलुकीको खाना खान पुग्ने व्यक्तिहरु चारकोठामा बन्द छन् । कोही केही हुन्न भन्ने भ्रममा छन्, कोही हत्तोत्साहित छन्, कोही मौकाको फाइदा लिनेे सोचमा छन् र त्यस्तै खाले क्रियाकलाप गर्दैछन्, कोही साच्चिकै समाजसेवा गर्दै छन् , कोही समाजसेवाको नाममा ढाेगी बन्दैछ्न् । यो सब हेर्दा लाग्छ कि रङमन्चमा रङ्कर्मी छन् अनि हामी नाटक हेर्दै छौं ।
विभिन्न संचार माध्यमले विभिन्न समाचार प्रचार प्रसार गर्दै छन् र हालसम्म यसको कुनै औषधी पत्ता लागेको पनि छैन। यस्तो विषम परिस्थितिमा प्रश्न पनि उब्जन्छ राज्यको दायित्व के ?अनि नागरिकको पनि के ? चिकित्सकको र आम स्वास्थकर्मी भूमिका के हो ? देश अनुसार अरुबेला जे जस्तोसुकै रणनीति भए तापनि राज्यले आफूसँग भएको सम्पूर्ण श्रोत साधन परिचालन गरी आम नागरिकको जीवन रक्षा गर्नु अहिलेकाे प्रमुख दायित्व हो । तर विश्वका ठूला तथा सम्पन्न राष्ट्र समेत कोरोनाको चपेटामा परी नियन्त्रण भन्दा बाहिर गई कसैले त संकटकाल समेत घोषणा गरिसकेको अवस्था छ, यसबाट अन्दाज गर्न सकिन्छ अवस्था कति भयावह छ ।
यो लेख लेख्दासम्म मंगलबार बेलुकी ६:४५ बजेसम्म कोरोना सन्क्रमितको संख्या १३,६२,२३२ मृत्युु हुनेको संख्या ७६,३५६ निको भई घर फर्कनेकाे संख्या २९३,७४० छ र करिब ९९२,५८० मानिस जीवन जीउन सङ्घर्षरत छन् । नेपालमा भने हालसम्म ९ जनामा यो रोग देखिए पनि १ जना निको भई घर फर्केकाे र बाँकी देशको विभिन्न अस्पतालमा उपचाररत छन्,नेपालमा हालसम्म कसैको निधन भएको छैन । यस्तो परिस्थितिमा राज्यले देशभरि लक डाउन गरेको १५ दिन भइसकेको छ र अरु ८ दिन थप लकडाउन घोषणा गरेको छ ।
यस बीचमा कति व्यक्तीहरु उपचार नपाई मर्नु परेको समाचारहरु समेत आएका छन् । एम्बुलेन्स चालक बिरामीको ओसारपसार गर्न नमान्ने, डाक्टर उपचार गर्न नमान्ने, देशकै प्रतिष्ठित मानिने अस्पताल बिरामी भर्ना गर्न नमान्ने, राज्यकोषबाट खरिद गरिएको स्वास्थ सामाग्री खरिदमा नै भ्रष्टाचारको गन्ध आउने, आखिर किन यस्तो भइरहेकोे छ ? हामीले बिर्सियौं कि एक दिन हामी पनि मर्नु पर्छ । हाम्रो मृत्यु निश्चित छ। हाम्रो अाँखा लोभ, मोहले ढाकियाे । जति नै धन भएपनि जतिसुकै ठूलो पदमा भएपनि यस्तो जटिल परिस्थितिमा बाँच्न गाह्रो हुँदोरहेछ होइन र?
अझै पनि हामीसँग भएको इच्छाशक्ति, संयन्त्र, र मानवीयताको भरपुर सकारात्मक प्रयोग गरे हामी यो लडाईमा विजय प्राप्त गर्न सक्छौं । आज कुनै हातहतियार चलाउन जान्ने, शक्तिशाली व्यक्ति भन्दा एउटा चिकित्सकको कत्रो आवश्यकता, इज्जत र सम्मान छ । तर विभिन्न बहानामा यो दु:खद घडीमा आफ्नो कर्तव्य निर्वाह नगरी परिस्थिति लत्याउँदै भागे भने पछि कसले त्यो इज्जत गर्ला, यस दु;खद क्षणमा राज्य संचालकहरुले आफ्नो कर्तव्य विना स्वार्थ निर्वाह नगरे भोलिका दिनमा समयले पक्कै बताउला ।
हामी बुझ्छौ स्रोत र साधनको कमी पक्कै भएको छ । कमसेकम भएको स्रोत र साधनको त भरपुर प्रयोग गरौं । एम्बुलेन्स चालक र चिकित्सकहरुले आफ्नो स्वास्थको ख्यालगरी आफ्नो जिम्मेवारी निभाअाैं ,यसो गरे हामी बाँच्न सक्नेछाैं । राज्यले सक्दो उच्चस्तरीय सामाग्री लगायत आवश्यक उपकरणको व्यवस्थापन मिलाअाेस् कर्मचारीको उच्च मनोबल हुने व्यवस्था गराेस् , स्थानीय निकाय, जनप्रतिनिधिहरुले आवश्यक समन्वय गरुन् ,सम्पूर्ण जनताले सरकारको अनुरोधको पालना गरुन् , अझ आफ्नो ज्यानको बाजी राखी हाम्रो रक्षार्थ खटिने चिकित्सक, सुरक्षाकर्मी लगायतको विशेष आभार प्रकट गरौं । विश्वमा नै मै हुँ भन्ने देश रोहिरहेका बेला हामीले रुन नपरोस् , सबैले आआफ्नो स्वार्थ त्यागौं । सकारात्मक चिन्तन राखौं , आफ्नो दायित्वबाट पछि नहटौ । यसो भएमा यस्तै अवस्था पनि हामी यो बिपतलाई जित्ने छौं । शुभ होस जय होस ।।
लेखक भानुभक्त अधिकारी माछापुच्छ्रे बैंक पर्सा शाखाका शाखा प्रबन्धक हुन् ।