काठमाडौँ, १७ वैशाख :
सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक आज बस्दैछ । प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच हिजो दिउँसो भएको भेटपछि सचिवालय बैठक डाकिएको हो ।
अस्तिदेखि सचिवालय बैठक बस्ने भनिएपनि नेताहरु गुटगत छलफलमा व्यस्त भएपछि बैठक अनिश्चित बनेको थियो । बैठक आज बेलुकी ५ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने सचिवालय सदस्य एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले जानकारी दिए । उनकाअनुसार बैठकले आन्तरिक विवादबारे छलफल गर्नुका साथै स्थायी कमिटीको बैठक बोलाउनेछ । ‘सचिवालय बैठकले तुरुन्तै स्थायी कमिटीको बैठक बोलाउँछ’, नेता खनालले भने, ‘अहिले देखिएका सबै विवाद स्थायी कमिटीबाटै समाधान गर्नुपर्छ ।’ प्रधानमन्त्री ओलीले भने स्थायी कमिटी बैठक बोलाउन आनाकानी गर्दै आएका छन् ।
यसअघि २० जना स्थायी कमिटी सदस्यले पार्टीका अध्यक्षद्वयलाई पत्र लेखी तत्काल स्थायी कमिटी बैठक बोलाउन माग गरेका थिए । वैशाख ८ मा प्रधानमन्त्री ओलीले पार्टीसँग सल्लाह नै नगरी दुईवटा विधेयक ल्याएसँगै नेकपा विवादको भूमरीमा फसेको हो ।
अध्यक्ष प्रचण्ड र वरिष्ठ नेता माधव नेपाल पक्ष ओलीबाट कम्तीमा पनि प्रधानमन्त्री वा पार्टी अध्यक्षमध्ये एउटा पद खोस्ने रणनीतिमा छन्। तर ओलीपक्ष भने माधव नेपाल समूहलाई फकाएर अघि बढ्न लागिपरेको छ । त्यसो नहुँदा संसदीय दलमा बहुमत पु¥याउने कसरत पनि ओली पक्षले गरिरहेको छ ।