विमान दुर्घटनाको विषयमा अनुमानको भरमा नबोल्न प्राधिकरणको निर्देशन

काठमाडौं, २ माघ : 

नेपाल नागरिक उड्डयन प्राधिकरणले विमान दुर्घटनाको विषयलाई लिएर अनावश्यक नबोल्न निर्देशन दिएको छ । प्राधिकरणले स्वतन्त्र र निष्पक्ष छानबिनका लागि सरकारले जाँच आयोग गठन गरिसकेको भन्दै विमान दुर्घटनासम्बन्धी घटनालाई जोडेर कुनै पनि व्यक्ति, संस्था, सम्बन्धित निकाय र पूर्वकर्मचारीलाई नबोल्न निर्देशन दिएको हो ।

सोमवार न्युज एजेन्सी नेपालसँगको कुराकानीमा प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलाले छानबिन समितिले यसको स्वतन्त्र र निष्पक्ष अनुसन्धान गरेर प्रतिवेदन बाहिर ल्याउने भन्दै घटनाका विषयमा अड्कलरअनुमान गर्नु वाञ्छनीय नहुने बताउनुभएको हो । उहाँले कोही पनि व्यक्तिले आफ्नो अनुमानको भरमा विज्ञता दर्शाउनुपर्ने आवश्यकता नरहेको बताउनुभयो ।

प्रवक्ता निरौलाले प्राधिकरणले प्रकाशन गरेको प्रेस विज्ञप्ति र प्राधिकरणका बहालवाला आधिकारिक व्यक्तिबाट प्रसारित समाचारहरूबाहेक अरूलाई विश्वास नगर्न र त्यस प्रकारका खण्डनहरूलाई विश्वास नगरि प्राधिकरणका सत्यरतथ्य सूचनाहरू जानकारीमा राख्न आग्रह गर्नुभयो । उहाँले सामाजिक सञ्जालमा विमान भित्रबाटै लाइभ गरेको भनेर भ्रम छर्न अर्कै भिडियो प्रचार गरिरहेको भन्दै त्यसमा सत्यता नरहेको स्पष्ट पार्नुभयो ।

उहाँले भन्नुभयो, ‘घटना भइसकेपछि छानबिन समितिले यसको स्वतन्त्र र निष्पक्ष अनुसन्धान गरेर रिपोर्ट बाहिर ल्याउँछ । यसमा अरू कसैले पनि घटनाका विषयमा अड्कलरअनुमान गर्नु वाञ्छनीय हुँदैन । यस घटनालाई जोडेर कुनै पनि व्यक्तिले, प्राधिकरणका पूर्वकर्मचारी कसैले नबोल्दा उपयुक्त हुन्छ । यसमा कसैले पनि आफ्नो विज्ञता देखाउनुपर्ने आवश्यकता छैन । जाँच आयोगले घटनाको स्वतन्त्र र निष्पक्ष सत्यरतथ्य बाहिर ल्याउनेछ ।’

आइतवार त्रिभुवन विमानस्थलबाट पोखराका लागि उडेको यति एअरलाइन्सको कल साइन नाइनएन एएनसी फ्लाइट नम्बर ६९१ एटीआर ७२ जहाज पोखरा विमानस्थलबाट दुई किलोमिटरको नजिककमा सेती नदीको खोँचमा दुर्घटनाग्रस्त भएको थियो । ७२ जना सवार विमानमा अहिलेसम्म ६९ वटा शव भेटिएको छ भने बाँकी तीन जनाको शव खोजी भइरहेको छ ।

मृतकको शव पोस्टमार्टमका लागि गण्डकी अस्पतालमा राखिएको र ४१ जनाको अहिलेसम्म पहिचान खुलेको प्राधिकरणले जनाएको छ । जहाजको ुब्ल्याक बक्सु फेला परिसकेको र काठमाण्डौ ल्याइ जाँच आयोगलाई बुझाउने तयारी रहेको प्राधिकरणले बताएको छ ।

सरकारले विमान दुर्घटनापछि आइतवार नै दुर्घटनाको कारण पहिचान गरी आउँदा दिनमा यस्ता घटना हुन नदिन अपनाउनुपर्ने सुझावसहितको प्रतिवेदन दिन दुर्घटना जाँच आयोग गठन गर्ने निर्णय गरेको थियो । पूर्वसचिव नागेन्द्र घिमिरे संयोजक रहनुभएको जाँच आयोगमा सदस्यहरूमा हवाई विज्ञ दीपकप्रसाद बास्तोला, हवाई विज्ञ सुनिल थापा, हवाई मर्मत सेक्टरका इन्जिनियर एकराजजङ्ग थापा र जाँच आयोगको सदस्य सचिवमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सह–सचिव बुद्धिसागर लामिछाने रहनुभएको छ । आयोगले ४५ दिनको समयावधिमा दुर्घटनाको कारण पहिचान गर्ने र आउँदा दिनमा त्यस्तो दुर्घटना हुन नदिन अपनाउनुपर्ने र गर्नुपर्ने कारण पहिचान गरी सुझावसहितको प्रतिवेदन प्रस्तुत गर्नेछ ।

संबन्धित शिर्षकहरु

आउँदो १५ गतेदेखि नागढुंगा सुरुङमा चल्ने गाडीले शुल्क तिर्नुपर्ने

आजदेखि पर्सिसम्म वर्षा र हिमपात, भारतमा जस्तो हावाहुरी नचल्ने

सिरहामा हवाई फायर गरेर दुई भारतीय नागरिक पक्राउ