नारायणकाजीले भने : प्रधानमन्त्री बैठकको बीचमै निस्केर जानुभयो

काठमाडौं, २४ बैशाख :

देशमा कोरोना संकट बढिरहेका बेला सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्रको विवाद थामिने लक्षण छैन । वैशाख २० मा बसेको सचिवालय बैठकमा केही साम्य भएको विवाद बुधबार पुन: बालुवाटारमा दोहोरिएको छ।

नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपालसहितले ओलीमाथि दुईमध्ये एक पद छाड्नै पर्ने दबाब बढाएपछि समस्या झनै चुलिएको हो । बिहीबार बस्‍ने स्थायी कमिटीको एजेण्डा तयका लागि बसेको बैठकमा आफूमाथि घेराबन्दी गर्न खोजिएपछि ओली बीचमै निस्किएर हिँडिदिएका छन् ।

उनी त्यसपछि बैठकमा फर्किएर नआएको स्रोतले जनाएको छ।

यता नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठले पनि ओलीले व्यस्तता र शारीरिक अवस्थालाई कारण देखाउँदै बैठकको बीचमै प्रधानमन्त्री ओली निस्किएर गएको जानकारी दिए। ‘बैठकमा सकेसम्म सबैजना बस्‍ने हो तर विभिन्‍न कारणले यसअघिदेखि नै निस्किने प्रचलन छँदैछ’, उनले भने, ‘आफ्नो केही व्यस्तताका कारण र केही शारीरिक कारणले समेत बैठकको पूरा समय बस्‍न नसकेर प्रधानमन्त्री जानु भएको हो।’ ओली निस्किएपछि सचिवालयमा भोलि बस्‍ने भनिएको एजेण्डाबारे छलफल भएको थियो। तर पार्टी अध्यक्ष नै बाहिरिएपछि सकिएको बैठकले स्थायी कमिटीको एजेण्डा तय गर्ने जिम्मेवारी शीर्ष नेतालाई दिएको छ। ‘सचिवालय बैठकले स्थायी कमिटीको एजेण्डा तय गर्ने जिम्मेवारी दुवै अध्यक्षलाई दिएको छ।

अहिले पनि दुवै अध्यक्ष बालुवाटारमै सल्लाहमा हुनुहुन्छ’, श्रेष्ठले भने, ‘२० गते बसेको सचिवालय बैठकको मर्मअनुसार प्रस्ताव तयार पार्ने काममा दुवै अध्यक्ष जुट्नु भएको छ।

बैठक बस्‍ने नबस्‍ने निर्णयको जिम्मा पनि अध्यक्षद्वयलाई सचिवालयले दिएको छ।’ श्रेष्ठका अनुसार आजसम्म नसकिएको स्थायी कमिटीको गृहकार्य पनि दुवै अध्यक्षले गरिरहेको बताए। ‘अझै पनि गृहकार्य बाँकी रहेको दुवै अध्यक्षले सचिवालय बैठकमा जानकारी गराउनुभयो’, उनले भने, ‘अहिले पनि दुवै अध्यक्ष सल्लाह गरेर बैठकको कार्यसूची बनाउने र बैठक नै के गर्ने भन्‍नेबारे बसिरहनु भएको छ।’

संबन्धित शिर्षकहरु

गणतन्त्र दिवस ३ दिन मनाइने, प्रधानमन्त्रीकाे अध्यक्षतामा मूल समाराेह समिति गठन

जलवायु परिवर्तन, हिमाल र मानवताको भविष्यको विषयमा छलफल गर्न सगरमाथा संवाद शुरू

‘हेल्लो काँशिराम’ र ‘के घर के डेरा घर नं. २’ आजदेखि प्रदर्शनमा