काठमाडौं, २६ वैशाख :
कोरोना भाइरसको महामारीका कारण अनिश्चित बनेको विश्व फुटबल अब भने लयमा फर्कने भएको छ । युरोपको शीर्ष डिभिजनको फुटबल प्रतियोगिता जर्मन बुन्डेश लिगा मे १६ बाट सुरु हुने पक्का भएको हो । जर्मन फुटबल संघले हिजो बुन्डेशलिगा मे १६ बाट सुरु हुने घोषणा गरेको हो ।
कोरोनाका कारण मध्य फेब्रुअरीबाट प्रतियोगिता अनिश्चित बनेको थियो । अब खेलाडीलाई मैदान प्रवेशका लागि बाटो खुलेको छ । जर्मन एफएका अध्यक्ष क्रिस्टियन सेफर्टले योजना सार्वजनीक गर्दै शनिबार ६ वटा खेल हुने बताएका छन् । दोस्रो स्थानको बोरुसिया डर्टमण्डले साल्केसँग खेल्दै गर्दा साविक विजेता बार्यन म्युनिख भने युनियन बर्लिनको भ्रमणमा निस्कने तय भएको छ ।
सिजनको अन्तिम चरणको खेल जुन २७ र २८ लाई तय गरिएको छ । जर्मन चान्सलर एन्जेला मर्केलले बुधबार बुन्डेशलिगाको अवरुद्ध सिजन पुन सुरु गर्ने घोषणा गरेकी थिइन् । उनले मे को दोस्रो साता खेल सुरु हुने बताएकी थिइन् । बुधबार जर्मन सरकारले दुई शीर्ष डिभिजनका ३६ क्लब मे को दोस्रो हप्ता खेल्न योग्न हुने बताएको थियो ।
कोरोना रोकथामको उल्लेख्य सुधार गरेको जर्मनीले लकडाउनलाई खुकुलो बनाउँदै लगेको छ । सोही कारण उसले शीर्ष डिभिजनका दुई फुटबल प्रतियोगिता खेल्न समेत अनुमति प्रदान गरेको हो । बुन्डेशलिगामा बार्यन शीर्ष स्थानमा रहेको छ । उसले लिगमा ४ अंकको अग्रता लिएको छ । दोस्रो स्थानमा बोरुसिया डर्टमण्ड रहेको छ ।