चितवन, १ जेठ :
विश्वबाटै लोप हुँदै गएको गिद्ध संरक्षणमा यहाँ चुनौती देखापरेको छ । केही वर्षअघि एकै वर्ष गिद्ध प्रजनन केन्द्रमा नौ बच्चा कोरलिएपछि उत्साहित बनेका नेपालका संरक्षणकर्मीमा क्रमशः यो सङ्ख्या शून्यमा झरेपछि चुनौती थपिएको हो ।
चितवन राष्ट्रिय निकुञ्जको मुख्य कार्यालय कसरामा गिद्ध प्रजनन केन्द्र रहेको छ । आर्थिक वर्ष २०७३÷७४ मा १५ फुलबाट नौ बच्चा कोरलिएका थिए । तर, यस वर्ष १९ फुल पारेको भए पनि ती फुलबाट गिद्धले बच्चा कोरल्न सकेनन् ।
प्रजनन केन्द्र हेर्दै आउनुभएका डा विकल्प कार्कीका अनुसार आर्थिक वर्ष २०७४÷७५ मा २१ फुलबाट छ चल्ला र आर्थिक वर्ष २०७५÷७६ मा २० फुलबाट दुईवटा बच्चा कोरलिएका थिए । क्रमशः घट्दै आएर यस वर्ष शून्य भएको हो ।
प्रजनन केन्द्रमा विसं २०७१ मा पाँचवटा फुल पारेर पहिलो वर्ष एउटा बच्चा कोरलिएको भए पनि दोस्रो वर्ष सात फुल पारे पनि बच्चा कोरल्न सकेको थिएन । तेस्रो वर्ष नौ बच्चा कोरलिएका थिए । कार्कीका अनुसार गिद्ध प्रजनन केन्द्रमा बच्चा कोरल्ने समस्या देखिएपछि अनुसन्धान थालिएको छ ।
माउले फुल पार्ने तर बच्चा कोरल्न नसकेपछि यसको कारणको खोजी गर्न शुरु गरिएको हो । फुल पारेको ५५ देखि ६० दिनमा बच्चा कोरल्नु पर्दछ । गिद्धले अक्टोवरको अन्तिमदेखि फ्रेबुअरीको अन्तिमसम्म फुल पार्ने गर्दछ । पहिलोपटकको फुल सफल नभएमा एकै मौसममा दोस्रोपटक समेत गिद्धले फुल पार्ने गर्दछ ।
यस वर्ष पाँच गिद्धले दुईपटक फुल पारेको उहाँले जानकारी दिनुभयो । डा कार्कीले फुल पार्ने तर बच्चा कोरल्न नसक्नुको कारण के हुनसक्छ भनेर विदेशी विज्ञहरुसँग समेत परामर्श गरी अनुसन्धान भइरहेको जानकारी दिनुभयो ।
निकुञ्जका सहायक संरक्षण अधिकृत वेदकुमार खड्काले तापक्रम निकै गिरावट भएकाले बच्चा कोरल्न नसकेको हो कि भन्ने आशङ्का पैदा भएको भए पनि अनुसन्धान भइरहेकाले अहिले नै भन्न नसकिने बताउनुभयो । उहाँले पछिल्ला वर्षहरुमा तापक्रम चार डिग्रीभन्दा तल झरेकाले समस्या उत्पन्न भएको हुनसक्ने जानकारी दिनुभयो ।
यस वर्ष जाडोको मौसममा तापक्रम चार डिग्रीमा झरेको थियो । हाल प्रजनन केन्द्रमा १५ भाले, १६ पोथी रहेका छन् । हालै मात्र त्यहाँबाट प्रकृतिमा छाड्नका लागि सात बयस्क र दुई बच्चा नवलपरासीको जटायु रेष्टुरेन्टमा लगिएको छ । हालसम्म सो रेष्टुरेन्टमा केही समय राखेर ३१ वटा गिद्ध प्रकृतिमा छाडिसकिएको छ ।
चितवन राष्ट्रिय निकुञ्जमा प्रजनन केन्द्र स्थापना गरी सेतो डङ्गर जातको गिद्धको वंश विस्तार गर्ने काम हुँदै आएको छ । निकुञ्ज, राष्ट्रिय प्रकृति संरक्षण कोष र नेपालपक्षी संरक्षण सङ्घले सन् २००८ बाट कसरामा प्रजनन केन्द्र स्थापना गरी संरक्षण गर्दै आएका छन् । स्थापनाको समयमा करिब तीन वर्ष लगाएर विभिन्न ठाउँबाट ६४ गिद्ध ल्याइ प्रजनन केन्द्रमा राखिएको थियो । (रासस)