नरैनापुर अनिश्चितकालका लागि सिल

बाँके , ६ जेठ :

बाँकेको नरैनापुरमा एकै दिन ५९ जनामा कोरोना भाइरसको सङ्क्रमण देखिएपछि स्थानीय प्रशासनले गाउँपालिकालाई अनिश्चितकालका लागि पूर्ण रुपमा बन्द ९सिल० गरेको छ । जिल्ला सुरक्षा समितिको बैठकले सोमबारदेखि नरैनापुरलाई खतरा क्षेत्र घोषणा गर्दै अर्को निर्णय नहुँदासम्मका गाउँपालिकालाई नै पूर्ण रुपमा सिल गर्ने निर्णय गरेको बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्यायले जानकारी दिए ।

सदरमुकाम नेपालगञ्जबाट करिब ३५ किलोमिटर दक्षिणपूर्व राप्तीपारी भारतसँग सीमा जोडिएको नरैनापुर गाउँपालिकामा ६ वटा वडा छन् । यसको उत्तरपूर्वमा राप्तीसोनारी गाउँपालिका जोडिएको छ ।

सङ्क्रमण न्यूनिकरणका लागि गाउँपालिकामा अत्यावश्यक कामबाहेक पूर्ण रुपमा आवतजावत ठप्प हुने गरी बन्द गरिएको सहायक प्रमुख जिल्ला अधिकारी उपाध्यायले बताए । उनका अनुसार नरैनापुरमा ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ । नरैनापुरमा सोमबार फेला परेका ५९ जनासहित गाउँपालिकामा मात्रै सङ्क्रमितको सङ्ख्या ६८ पुगेको छ ।

यसअघि नै नरैनापुरमा एकजनाको ज्यान जाने गरी नौजनामा सङ्क्रमण देखिएको थियो । नरैनापुरमा सुरुमा फेला परेका आठजना सँगको सम्पर्कमा आएका २६३ जनाको स्वाब परीक्षण गर्दा ५९ जनामा सोमबार रिपोर्ट पोजेटिभ आएको जिल्ला स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले जानकारी दिए ।

उनका अनुसार, सोमबार सङ्कलित ९३ सहित अझै ११० जनाको स्वाब परीक्षणका क्रममा छ । यससँगै बाँकेमा कोरोना सङ्क्रमितको सङ्ख्या सोमबारसम्म ९३ जनामा पुष्टि भएको छ । सोमबार अपराहन्न ४७ र राति १० बजेपछि १२ जना गरी ५९ जनामा कोरोना सङ्क्रमण देखिएको थियो ।

यसअघि नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर ८ मा २४ र वडा नम्बर ७ मा एक गरी २५ जनामा सङ्क्रमण देखिएको छ । बाँकेमा पहिलोपटक फेला परेका नेपालगञ्जका २५ जनालाई खजुरास्थित कोरोना विशेष आइसोलेशन अस्पतालमा राखेर उपचार गरिए पनि त्यसपछि नरैनापुरमा फेला परेका आठजनालाई दाङ आइसोलेशन अस्पतालमा पठाइएको छ ।

सोमबार पुष्टि भएका ५९ जनालाई नरैनापुरमै रहेको लक्ष्मणपुर प्राथमिक स्वास्थ्य चौकीमा आइसोलेशन सेवासहितको उपचार सेवा दिने तयारी भएको छ ।

संबन्धित शिर्षकहरु

सुनको भाउ तोलामा एक लाख ७० हजार रुपैयाँ नाघ्याे

हमासले बन्धक रिहा नगरे युद्धविराम रद्ध गर्ने अमेरिकी राष्ट्रपति ट्रम्पको चेतावनी

आपत्कालीन कोषमा योगदान गरेकोमा डब्ल्यूएचओबाट नेपाललाई धन्यवाद ज्ञापन