राजनीतिलाई सकारात्मक दिशातर्फ लैजान आवश्यक छ : उपप्रधानमन्त्री श्रेष्ठ

चितवन, २७ चैत : 

उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले नेपालको राजनीतिलाई सकारात्मक दिशातर्फ लैजान आवश्यक भएको बताउनुभएको छ ।

प्रेस सेन्टर चितवनले आज यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा उहाँले राजनीतिलाई सकारात्मक दिशातर्फ लैजानका निम्ति सबैभन्दा पहिला आफूले आफैँलाई हेर्नुपर्ने बताउनुभयो । अरूको निम्ति ठूलो कुरा गर्ने आफूलाई नहेर्ने प्रवृत्ति गलत भएको उहाँको भनाइ छ । उपप्रधानमन्त्री भन्नुभयो, “अरूका निम्ति ठूलाठूला कुरा गरिदिने, आफूलाई नहेर्ने, प्रष्ट देखेको कुरा पनि नभन्ने प्रवृत्ति छ ।”

नेपालको राजनीतिमा देखापरेका समस्या सच्चिनुपर्ने उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “भ्रष्टाचारका लागि कुनै पनि छुट हुन सक्दैन ।” प्रहरीको व्यवहार जनमुखी र सेवामुखी हुनुपर्ने भन्दै उहाँले महिला हिंसा नियन्त्रणका लागि सरकारले काम गर्ने बताउनुभयो । “नागरिकता पाउनुपर्ने संवैधानिक हक छ, तर कानुन नभएकाले पीडा भोगिरहेका छन्”, उपप्रधानमन्त्री श्रेष्ठले भन्नुभयो ।

गैर नागरिकले नागरिकता नपाउने भन्दै उहाँले नागरिकता विषयमा भएका अनियमितका विषयमा कडाइका साथ प्रस्तुत हुने बताउनुभयो । नागरिकताका कतिपय विषयमा राष्ट्रिय सहमति आवश्यक रहेको भन्दै उहाँले सबै दलहरूसँग छलफल गरेर समस्याको समाधान खोजिने बताउनुभयो । उपप्रधानमन्त्री श्रेष्ठले भन्नुभयो, “नागरिकता प्राप्त गर्ने हकबाट कोही पनि वञ्चित हुनुपर्ने छैन ।” रासस

 

संबन्धित शिर्षकहरु

काँग्रेस संसदीय दलको वैठकमा पार्टीको भूमिका र सरकारका पछिल्ला गतिविधिबारे छलफल

आजदेखि पाकेको धानबाली भित्र्याउन सकिने, अबको केही दिन वर्षाको सम्भावना न्यून

नेपाल शिक्षक सङ्गठन, भरतपुर महानगर समितिको अध्यक्षमा सुनिल सिटौला चयन