चितवन, २३ जेठ :
चितवन उद्योग सङ्घको परिसरमा बिक्री केन्द्रको भवन बिहीबार शिलान्यास गरिएको छ । जिल्लाका सानादेखि ठूला उद्योगी व्यवसायीले उत्पादन गरेका वस्तुको प्रदर्शनी तथा बिक्री गर्न मिल्ने गरी सुविधासम्पन्न भवन बन्ने सङ्घका अध्यक्ष राजु पौडेलले बताउनुभयो ।
असार मसान्तभित्र सम्पन्न गर्ने उद्देश्यका साथ बिक्री केन्द्रको शिलन्यास गरिएको हो । उद्योग वाणिज्य तथा उपभोक्ता हित संरक्षण निर्देशनालय मकवानपुरको स्वीकृत वार्षिक कार्यक्रमअन्तर्गत रु एक करोड ७५ लाख लागतमा दुईतले तीन हजार स्क्वायरफिटको सो भवन निर्माण गर्न लागिएको हो ।
भवनको सङ्घका अध्यक्ष राजु पौडेल, गभर्निङ काउन्सिलका अध्यक्ष एवं पूर्वअध्यक्ष हरिप्रसाद सुवेदी र घरेलु तथा साना उद्योग कार्यालय चितवनका निमित्त प्रमुख नारायण लम्सालले संयुक्तरूपमा शिलान्यास गर्नुभएको हो । पहिले सचिवालय र कार्यालय रहेको भवन भत्काएर त्यसैको नजिक भवनको निर्माण गरिने भएको हो ।
ॐ सत्य साई कन्स्ट्रक्शन प्रालि भरतपुरले निर्माण जिम्मा पाएको उक्त परियोजनालाई कन्सल्टिङ कम्पनी मौलाकालिका सिभिल वक्र्सले डिजाइन गरेको थियो । (रासस)