दलको झोला बोकेर विश्वविद्यालय छिर्न नपाइने बनाऔँ : गगन थापा

काठमाडौं, १८ असार : नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले राजनीतिक दलको झोला बोकेर विश्वविद्यालय छिर्न पाइँदैन भन्ने कुरालाई स्थापित गर्नुपर्ने बताउनुभएको छ । सोमवार स्व. गिरिजाप्रसाद कोइरालाको १०० औँ जन्मजयन्तीको अवसरमा काठमाण्डाैमा भएको कार्यक्रममा महामन्त्री थापाले विश्वविद्यालयलाई शतप्रतिशत राजनीतिबाट टाढा राख्नुपर्ने बताउनुभएको हो ।

उहाँले दलको झोला बोकेर विश्वविद्यालय छिर्न पाइँदैन भन्ने कुरालाई अन्त्य नगरेसम्म विश्वविद्यालयमाथि उठ्न नसक्ने बताउनुभयो । उहाँले कुनै पनि दलको झोला बोक्ने प्राध्यापक, विद्यार्थी, कर्मचारीलाई विश्वविद्यालयले चिन्दैन भन्ने कुरा स्थापित गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले भन्नुभयो, ‘आज संविधान निर्माण भएर सङ्घीय व्यवस्थामा गइसकेपछि पनि शिक्षाको व्यवस्थापन गर्ने आधारभूत कुराबाट हामी चुकेका छौँ ।

हाम्रो विश्वविद्यालयलाई अब राजनीतिक दलसँग शतप्रतिशत अलग गर्नुपर्छ । हाम्रा प्राध्यापक, कर्मचारी, विद्यार्थीहरू राजनीतिकरूपमा सचेत छन्, त्यहाँ प्रतिस्पर्धा हुन्छ, त्यहाँ सबै हुन्छ तर दलको झोला बोकेर विश्वविद्यालय छिर्न पाइँदैन भन्ने कुरालाई अन्त्य गर्नैपर्छ । सङ्घीय शिक्षा ऐनजस्तै विश्वविद्यालय ऐन ल्याउनुपर्छ र त्यसमा कुनै पनि दलको झोला बोक्ने प्राध्यापक, विद्यार्थी, कर्मचारीलाई विश्वविद्यालयले चिन्दैन भनेर उल्लेख हुनुपर्छ । होइन भने विश्वविद्यालय माथि उठ्न सक्दैन ।’ महामन्त्री थापाले विश्वविद्यालयको अवस्था झनै कहालीलाग्दो भएको भन्दै यसको दोष राजनीतिक दल र सरकारको नेतृत्व गर्नेहरूले लिनुपर्ने बताउनुभयो ।

उहाँले उच्च प्राथमिकतामा राखेर तत्काल सङ्घीय शिक्षा ऐन ल्याउन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डकाे ध्यानाकर्षण गराउनुभयो । सरकारले विद्यालय शिक्षामा आएको सङ्कटलाई बुझ्न नसकेको थापाकाे भनाइ छ ।

संबन्धित शिर्षकहरु

आज गणेशमान सिंहको २९औँ स्मृति दिवस

गण्डकीदेखि पूर्वका धेरै ठाउँमा मध्यमदेखि ठूलो वर्षा

इरानी प्रतिनिधिलाई राष्ट्रसंघ महासभामा सहभागी हुन अमेरिकाले भिसा दिने