प्रतिनिधिसभाको बैठक भोलि दिउँसो ३ बजे बस्ने गरि स्थगित

काठमाडौं, २२ साउन :

प्रतिनिधिसभाको बैठक भोलि दिउँसो ३ बजे बस्ने गरि स्थगित भएको छ ।

संसद्को गतिरोध अन्त्य गर्ने विषयमा आज संसद् भवन नयाँ बानेश्वरमा बसेको बैठकमा सहमति जुट्न नसकेपछि आज ४ बजे बस्ने भनिएको प्रतिनिधिसभाको बैठक सूचना टाँस गरि भोलि दिउँसो ३ बजेसम्मका लागि स्थगित भएको हो ।

संसद्को गतिरोध अन्त्य गर्ने विषयमा संसद् भवन नयाँ बानेश्वरमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच छलफल भए पनि सहमति जुट्न सकेन ।

दलहरुबीच संसद् सुचारु गर्ने विषयमा सहमति जुटाउन भोलि बिहान १० बजे प्रधानमन्त्री सहित दलका शीर्ष नेताहरूको बैठक बस्ने भएको छ ।

भोलि बस्ने शीर्ष नेताहरूको बैठकमा सहमतिको प्रयास गरिने बैठकपछि संसद् भवनमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै नेकपा एमालेका सचेतक महेश बर्तौलाले जानकारी दिनुभयो ।

नेकपा एमालेले सुन तस्करी छानबिनमा उच्चस्तरीय समिति गठन गर्नुपर्ने माग राखेकोमा त्यसमा आजै सहमति हुन नसकेपछि प्रधानमन्त्री निवास बालुवाटारमा शीर्ष नेताहरूको बैठक भोलि पुनः बस्ने एमाले सचेतक बर्तौलाले बताउनुभयो ।

यही माग राखेर साउन १० गतेदेखि प्रमुख प्रतिपक्षी दलले लगातार संसद् अवरोध गर्दै आएको छ ।

आजको दोस्रो बैठकअघि संसद् अवरोध नै खोल्ने विषयमा छलफल गर्न सभामुख देवराज घिमिरेले प्रधानमन्त्री प्रचण्ड, कांग्रेस सभापति देउवा र एमाले अध्यक्ष ओलीको बैठक राख्नुभएको थियो ।

 

संबन्धित शिर्षकहरु

आज पनि सुनको भाउ घट्यो

पर्सि देशका धेरै ठाउँमा पानी पर्ने सम्भावना : बढ्दो गर्मीबाट केही राहत पुग्ने

इबोला भाइरसविरुद्धको खोप विकास गरेको रुसको दाबी