चितवन मेडिकल कलेज सरकारलाई पिसिआर ल्याब दिन तयार

चितवन, २५ जेठ :

कोभिड–१९ को सङ्क्रमण बढिरहेको समयमा यहाँ रहेको चितवन मेडिकल कलेजले स्थापना गरेको पिसिआर परीक्षण प्रयोगशाला सरकारलाई दिन तयार रहेको जनाएको छ । एक वर्षदेखि काम थालेर हाल प्रयोगशाला सञ्चालनको तयारी अवस्थामा पुगेको छ । कलेजका अध्यक्ष एवं प्रबन्ध निर्देशक प्राडा हरिशचन्द्र न्यौपानेले आफूहरुसँग जनशक्ति र प्रयोगशाला तयारी भएको भन्दै सरकारलाई दिन तयार रहेको पत्र दिइसकेको बताउनुभयो ।

उहाँका अनुसार केही दिनअघि स्वास्थ्य मन्त्रालयलाई कलेजले प्रयोगशाला दिन तयार रहेको पत्र पठाएको छ । कलेजमा प्रयोगशालामा काम गर्नसक्ने सातजना अनुभवी जनशक्ति रहेका छन् । कलेजका जनशक्तिले भरतपुर कोभिड–१९ प्रयोगशाला शुरुआतीमा काम गरेका थिए । हाल पनि कलेजकै दुईजना जनशक्ति प्रयोगशालामा रहेका छन् । न्यौपानेले अहिलेको सङ्कटको समयमा सामाजिक उत्तरदायित्व बहन गर्दै सरकारलाई सहयोग गर्ने प्रस्ताव आफूले गरेको जानकारी दिनुभयो ।

कलेजले अनुमति पाएमा परीक्षण गर्न सक्ने भए पनि सरकारी तवरबाटै प्रयोगशाला सञ्चालन गर्न उपयुक्त हुने आफ्नो सुझाव रहेको उहाँले बताउनुभयो । यस प्रयोगशालामा दैनिक दुई सयभन्दा बढी नमूनाको परीक्षण गर्न सकिने उहाँको भनाइ छ । त्यहाँ लाग्ने खर्च सरकारी तवरबाट गरेर काम गरेमा अहिले पालो कुरेर राखिएका नमूनाहरुको समयमा परीक्षण गर्न सकिने देखिएको छ । भरतपुर कोभिड–१९ प्रयोगशाला स्थापनामा न्यौपानेको सक्रिय भूमिका रहेको थियो । उहाँले तत्कालीन समयमा पनि मेडिकल कलेजमा प्रयोगशालाका लागि ठाउँ दिन तयार रहेका जनाउनु भएको थियो ।

हाल भरतपुर अस्पतालले सञ्चालन गरेको प्रयोगशालामा चितवन, मकवानपुर, नवलपुर र कपिलवस्तुका नमूना परीक्षण भइरहेको छ । यस मेडिकल कलेजले निजी क्षेत्रबाट कोभिड–१९ नियन्त्रणमा महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको छ । कोभिड क्लिनिकमा दैनिक पाँच÷छ जना बिरामी हेर्दै आएको जनाएको छ । यहाँ सञ्चालनमा आएको भरतपुर कोरोना विशेष (अस्थायी) अस्पतालमा २० वटा श्ययालगायतका उपकरण र जनशक्ति चितवन मेडिकल कलेजले सहयोग गरेको छ ।(रासस)

संबन्धित शिर्षकहरु

गणतन्त्र दिवस ३ दिन मनाइने, प्रधानमन्त्रीकाे अध्यक्षतामा मूल समाराेह समिति गठन

जलवायु परिवर्तन, हिमाल र मानवताको भविष्यको विषयमा छलफल गर्न सगरमाथा संवाद शुरू

‘हेल्लो काँशिराम’ र ‘के घर के डेरा घर नं. २’ आजदेखि प्रदर्शनमा