डेङ्गीको सङ्क्रमण घट्दो क्रममा तर अझै दुई महिना जोखिम : सचेत रहन विज्ञको आग्रह

काठमाडौं, २१ भाद्र : केही समयअघि ह्वारह्वार्ती बढेको डेङ्गीको सङ्क्रमण अहिले घट्दो क्रममा छ । ‘डेङ्गी फैलाउने लामखुट्टे नष्ट गर’ अभियानसँगै नागरिक पनि सचेत हुन थालेकाले सङ्क्रमण केही घटेको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार डेङ्गीको सङ्क्रमण सबैभन्दा धेरै फैलिएको चार जिल्ला सुनसरी, झापा, मोरङ र धादिङमा अहिले सङ्क्रमण फैलिने क्रम केही घटेको छ । ‘यी जिल्लामा डेङ्गी सङ्क्रमितको सङ्ख्या पाँच सयभन्दा धेरै छ । तर, केही दिन पहिलेको जस्तो अहिले सङ्क्रमण फैलिएको छैन’ इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा अन्तर्गतको किटजन्य शाखाका प्रमुख डाक्टर गोकर्ण दाहालले भन्नुभयो । उहाँका अनुसार अन्य जिल्लामा सङ्क्रमण स्थिर छ ।

सावधानी अपनाए डेङ्गीलाई नियन्त्रण गर्न सकिने उहाँले बताउनुभयो । अझै दुई महिना डेङ्गीको जोखिम उच्च छ । डेङ्गी सङ्क्रमित एडिस एजिप्टाइ जातको पोथी लामखुट्टेले टोक्दा यो रोग सर्छ । लामखुट्टेको टोकाइबाट जोगिन सके डेङ्गीबाट बच्न सकिन्छ । डेङ्गी सार्ने लामखुट्टे सफा पानीमा बस्ने, सफा पानीमा आफ्नो अण्डा उत्पादन गर्ने अनि आफ्नो जीवनचक्र पूरा गर्ने भएको हुनाले घर वरिपरि, कार्यस्थलमा पानी जमेको छ भने त्यसलाई फाल्नु पर्ने डाक्टर दाहालको सुझाव छ । यस्तै, शरीर ढाक्ने कपडा लगाउने, सुत्दा झुलको प्रयोग गरे पनि लामखुट्टेको टोकाइबाट बच्न सकिन्छ । देशभर २४ हजार जनालाई डेङ्गीको सङ्क्रमण भएको सरकारी तथ्याङ्क छ ।

यस वर्ष डेङ्गीका कारण १४ जनाको ज्यान गएको छ । अघिल्लो वर्ष सन् २०२२ मा ५४ हजार सात सय ८४ जनामा सङ्क्रमण हुँदा ८८ जनाको ज्यान गएको थियो ।

संबन्धित शिर्षकहरु

आफ्नै रेकर्ड तोड्दै कामिरिता शेर्पा ३२औँ र ल्हाक्पा शेर्पा ११औँ पटक सगरमाथा शिखरमा

ट्रम्पको चेतावनीका बाबजुद स्वतन्त्र र सार्वभौम देश भएको ताइवानको घोषणा

कङ्गोमा इबोला भाइरसबाट ८० जनाको ज्यान गयो : डब्लुएचओद्वारा विश्व स्वास्थ्य सङ्कटकाल घोषणा