भरतपुर, २६ जेठ ।
कोरोना भाईरसका कारण जारी लकडाउनका बिच भरतपुर महानगरपालिका वडा नम्बर ११ का विभिन्न स्थानमा चोरीका घटना बढ्न थालेका छन् । जेष्ठ महिनामा मात्रै वडाको जनोदय समन्वय टोलमा ९ र छिमेकी सल्लेरी शान्ति टोलमा २ घटना भएको जानकारी प्राप्त भएको छ ।
पछिल्लो पटक गत बिहिबार एकै पटक दुईघरमा चोरी भएको र घटनामा एउटा घरबाट साढे चार तोला सुन र अर्को घरबाट ३ तोला सुनका साथै ७ हजार रुपैयाँ पनि चोरी भएको स्थानीयहरुले बताएका छन् । चोरहरुले लक डाउनका बेला घर बन्द गरी गााउँ गएकाहरुको घरलाई लक्षित गरी घटना घटाएको पाईएको छ । यस क्रममा एउटा स्कुटर र २० भन्दा बढी साईकल समेत टोलबाट हराएका छन् ।
चोरको प्रकोप बढ्दै गएपछि स्थानीयहरुले वडा कार्यालय र भोजाड प्रहरीको सहयोगमा ४० जनाको स्यंसेवक दस्ता गठन गरि हाल रात्री गस्ती गरिरहेको दस्ताका संयोजक निमकान्त पाण्डेले जानकारी दिनुभयो । उहाँका अनुसार २०, २० जनाको दुई समुह बनाई राती ११ बजेदेखि बिहान ४ बजेसम्म दैनिक गस्ति गरिएको छ ।
घटनामा संलग्नहरुको खोजी कार्य भईरहेको र दाषीलाई कारबाही गरिने वडाध्यक्ष बाबुराम अधिकारीले जानकारी दिनुभयो । साथै उहाँले वडाबासीहरुलाई सचेत रहन समेत आग्रह गर्नुभएको छ ।