संविधान संशोधन विधेयकमाथि आजबाट छलफल हुँदै

काठमाडौं, २७ जेठ :
प्रतिनिधि सभामा आजबाट संविधान संशोधन विधेयकमाथि छलफल हुने भएको छ । आजको बैठकमा संविधान संशोधन विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव पेश हुने भएको हो ।

सचिवालयले सार्वजनिक गरेको संभावित कार्यसूचीमा कानुन मन्त्री शिवमाया तुम्बाहाम्फेले नेपालको संविधान दोस्रो संशोधन विधेयक २०७७ लाई सैद्धान्तिक छलफलका लागि पेश गर्ने कार्यसूची रहेको छ । सर्वसाधारणको जानकारीका लागि सार्वजनिक गरेको सात दिनपछि विधेयक छलफलका लागि संसदमा प्रस्तुत गर्न सकिने प्रावधानअनुसार विधेयकलाई अगाडी बढाउन लागिएको हो ।

संघीय संसद सचिवालयले गत जेठ १९ गते राजपत्र र २० गते गोरखापत्रमा सर्वसाधरणको जानकारीका लागि संविधान संशोधन विधेयक सार्वजनिक गरेको थियो । उक्त सात दिन हिजो पूरा भएसँगै सरकारले संशोधन विधेयक अघि बढाउन चाहेको हो ।

सरकारले भारतले अतिक्रमण गरेको लिम्पियाधुरा, कुटी, गुञ्जी, नावीसहितको भूभाग समेटेर नेपालको राजनीतिक तथा प्रशासनिक नक्सा जेठ ७ गते अद्यावधिक गरेको थियो । निशान छापमा प्रयोग भएको देशको नक्सा नै त्रुटीपूर्ण रहेपछि सरकारले संविधान संशोधन विधेयक जेठ ९ गते दर्ता गरेको हो ।

विधेयक जेठ १९ गते सदनमा प्रस्तुत भएको थियो । आज संशोधन विधेयकमाथिको सैद्धान्तिक छलफल सकिएमा सांसदहरुलाई संशोधन दर्ता गराउन ७२ घण्टाको समय दिइनेछ ।

संबन्धित शिर्षकहरु

अमेरिकी राष्ट्रपति ट्रम्प र भारतीय प्रधानमन्त्री मोदीबीच द्विपक्षीय व्यापार बढाउनेबारे छलफल

अमेरिकी डलरको भाउ आज स्थिर

नेपाल सुपर लिग (एनएसएल) तेस्रो संस्करणमा सात टोली सहभागी हुने