चितवन, १७ मंसिर : चितवनको कालिका नगरपालिका वडा नम्बर–९ मा भएको एक दिने निःशुल्क स्वास्थ्य शिविरमा झण्डै तीन सय जनाको स्वास्थ्य जाँच गरिएको छ । चितवन हस्पिटल प्रा.लि भरतपुरको आयोजना र कालिका नगरपालिकाको सहयोग तथा समन्वयमा वडा–९ को चर्तुमुखी माध्यमिक विद्यालयमा हिजो शनिवार स्वास्थ्य शिविर सम्पन्न भएको हो ।
शिविरमा सामान्य स्वास्थ्य जाँचसहित पेटरोग, नाक, कान, घाँटी, हाडजोर्नी, नशा रोग, स्त्री तथा क्यान्सर रोगको जाँच र परामर्श सेवा प्रदान गरिएको थियो । साथै शिविरमा निःशुल्क सुगर परीक्षण पनि भएको थियो । नगरपालिकाका उपमेयर विमला तामाङको सुगर परीक्षण गरी उद्घाटन गरिएको थियो ।
शिविरमा एक सय ४० जनाको सुगर परीक्षण गरिएको अस्पतालका निर्देशक नारायण सापकोटाले जानकारी दिनुभयो । विशेष गरी कालिका नगरपालिकाभित्र रहेका तर स्वास्थ्य सेवाको पहुँचमा नरहेका चेपाङ समुदायलाई लक्षित गरी यो शिविर भएको निर्देशक सापकोटाले बताउनुभयो ।





