रत्ननगर महोत्सव सुरु, तीन लाख बढी दर्शकले अवलोकन गर्ने अपेक्षा

रत्ननगर महोत्सव उदघाटन नारायणगढ (चितवन),२६ पुसः राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना रत्ननगर उद्योग वाणिज्य सङघको आयोजनामा आजदेखि सुरु भएको …रत्ननगर महोत्सव २०८०’ कार्यक्रम उदघाटन गर्दै । रत्ननगरको टिकौली चौरमा माघ ८ गतेसम्म उक्त महोत्सव चल्नेछ । तस्बिर : सनद अधिकारी/रासस

चितवन, २६ पौष : रत्ननगरको टिकौलीचौरमा आजबाट रत्ननगर महोत्सव सुरु भएको छ । रत्ननगर उद्योग वाणिज्य संघले आयोजना गरेको महोत्सवलाई राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले उद्घाटन गरेका हुन् ।

अध्यक्ष तिमिल्सिनाले महोत्सवको सफलताको शुभकामना दिँदै देशको चार वटा महत्वपूर्ण महोत्सव मध्ये रत्ननगर महोत्सव पनि पर्ने बताए । उनले भने, ‘देशको चार वटा महत्वपूर्ण महोत्सव मध्ये रत्ननगर महोत्सव पनि पर्छ । भविश्यमा चार वटा महोत्सव मध्ये पहिलो नम्बरमा रत्तननगर महोत्सव आउन सकोस् भनी शुभकामना दिन चाहन्छु ।’ अध्यक्ष तिमिल्सिनाले महोत्सवबाट चितवनको आर्थिक क्षेत्र चलायमान हुँदै जाने बताएका छन् । उनले भने, ‘महोत्सवका कारण आर्थिक चलायमान हुनुका साथै उपभोक्ता, व्यवसाय सबै अगाडि बढ्दै जानेछ ।’ उद्घाटन अघि बिहान रत्ननगर २ नेपाल माध्यमिक विद्यालयको चौरबाट विभिन्न संघसंस्था तथा हात्तीसहितको शोभायात्रा निकालिएको थियो । शोभायात्रामा पूर्वीचितवनको थारुसमुदायसहितका विभिन्न जातीय तथा धार्मिक समुदायको झाँकीहरु प्रदर्शन गरिएका छन् । यस महोत्सवमा चितवनको कृषि र पर्यटनलाई प्राथमिकता दिइएको छ । महोत्सवमा मकैको उत्पादनलाई जोड दिँदै बजारीकरणलाई समेत ध्यान दिइएको छ ।

मकै बालीको संरक्षण र प्रवद्र्धनकालागिमहोत्सव स्थलमा मकै बाली स्थापनातथा मकैको स्टाच्यु निर्माण गरिएको छ । महोत्सवमा रामपुर मकै बाली अनुसन्धान केन्द्रबाट २० प्रजातिका मकैको बारेमा जानकारी दिइएको छ । महोत्सव स्थलमा मकै बाली, केरा बगान, च्याउको टनेल र माछा पोखरी निर्माण गरिएको छ । पर्यटन विकासअन्तर्गत खगेरी खोलामा मोटरबोट सञ्चालन गरिने भएको छ । रत्ननगर भएर बग्ने खगेरी खोलामा दीर्घकालीन रुपमा मोटरबोट सञ्चालन गरेर पर्यटक भित्र्याउने लक्ष्यअनुसार महोत्सवको अवधिभर मोटरबोट सञ्चालनमा ल्याइएको हो ।

महोत्सवमा २०० रूपैयाँ तिरेर साढे दुई किलोमिटर मोटरबोटको आनन्द लिन सकिने व्यवस्थागरिएको छ । माघ ८ गतेसम्म चल्ने महोत्सवमा उद्योग, व्यापार, कृषि, पर्यटन, स्थानीय कला र संस्कृतिसहित राष्ट्रिय, अन्तर्राष्ट्रिय तथा बहुराष्ट्रिय गरी करिब ४५० स्टलहरु रहेका छन् । यसपटकको महोत्सवमा तीनलाख भन्दा बढी दर्शकहरुले अवलोकन गर्ने र करिब २५ करोडभन्दा बढीको कारोबार हुने अपेक्षा गरिएको छ ।

संबन्धित शिर्षकहरु

प्रतिनिधि सभाको बैठक आज बस्दै: (सम्भावित-कार्यसूचीसहित)

सुनचाँदीको भाउ आज पनि घट्यो

आज काठमाण्डौ उपत्यकासहित १८ जिल्लामा आकस्मिक बाढीको मध्यम जोखिम