काठमाडौं, ३० बैशाख : चितवन राष्ट्रिय निकुञ्जको गोही प्रजनन केन्द्रले एक सय पाँच वटा घडियाल गोही राप्ती नदीमा छाडेको छ । प्राकृतिक वासस्थानमा बाँच्ने र हुर्कने दर कम भएकोले घडियाल गोहीको संरक्षणमा सहयोग पुर्याउने उद्देश्यले प्रजनन केन्द्रमा गोही हुर्काउने गरेको निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीले जानकारी दिनुभयो ।
२०३५ सालामा स्थापना भएको घडियाल गोही प्रजनन केन्द्रबाट अहिलेसम्म एक हजार नौ ५७ वटा गोही देशका विभिन्न नदीमा छाडेको सूचना अधिकारी तिवारीले जानकारी दिनुभयो । प्रजनन केन्द्रमा हुर्काएर नदीमा छाडिए पनि गोहीको सङ्ख्या बढ्न सकेको छैन । मानवीय गतिविधि र नदीसँगै बगेर भारतको जलक्षेत्रमा पुगेपछि संरक्षण चुनौतीपूर्ण भएको हो । -रासस



