चितवन, १४ जेठ : नेपाल पत्रकार महासंघ केन्द्रीय सदस्यता शुद्धिकरण समितिले गरेको निर्णय प्रति आपत्ति प्रकट गर्दै राष्ट्रिय दलित पत्रकार संघ, नेपाल जिल्ला कार्यसमिति चितवनले पत्रकार महासंघ चितवनका अध्यक्ष नारायण अधिकारीलाई ध्यानाकर्षण पत्र बुझाएको छ ।
सोमबार पत्रकार महासंघ चितवनको प्राङ्गणमा ध्यानाकर्षण पत्र बुझाउँदै दलित पत्रकार संघ चितवनका अध्यक्ष श्याम वि.कले महासंघले आरक्षण दिइरहेको दलित समुदायका पत्रकार अगुवाहरूलाई सदस्यताको विषयमा यो वा त्यो नाममा सदस्यता हटाउने जस्ता कार्य भएको हुँदा त्यसलाई नसच्याइएमा जस्तो सुकै कदम चाल्न बाध्य रहने बताएका छन् ।
संघका संस्थापक अध्यक्ष एवम् केन्द्रीय प्रतिनिधि अमिर रामदामले २०८१ वैशाख ३१ गते पत्रकार महासंघ चितवनको कार्यालयमा यस संघको समेत उपस्थितिमा भएको संयुक्त बैठकको निर्णय जस्ताकोतस्तै कार्यान्वयन हुनुपर्ने बताएका छन् ।

पत्र बुझ्दै पत्रकार महासंघ चितवनका अध्यक्ष नारायण अधिकारीले भने यो हामी सबैको साझा मुद्दा रहेको र वैशाख ३१ गतेको संयुक्त बैठकको निर्णय जस्ताकोतस्तै सम्बोधन हुनुपर्दछ एवम् उक्त निर्णय कार्यान्वयन गराउन महासंघ चितवनले निरन्तर प्रयास गरिरहेको बताएका छन्।



