चितवन , ३२ जेठ :
नेपाल पत्रकार महासंघ चितवन शाखाले जिल्लाका पत्रकारहरुको दुर्घटना बिमा गराएको छ । हरेक पत्रकारको ३ लाख रुपैयाँ बराबरको दुर्घटना बिमा गरिएको महासंघ चितवनका सचिव तीर्थ नेपालले जानकारी दिनुभयो । असार १ गतेबाट लागुहुनेगरी जिल्लाका २५७ जना पत्रकारहरुको सामुहिक दुर्घटना बिमा गरिएको उहाँले जानकारी दिनुभयो ।
यस कार्यका लागि कालिका नगरपालिकाले आवश्यक आर्थिक सहयोग गरेको छ । नगरपालिका र महासंघ जिल्ला शाखा बिच भएको सम्झौता पत्रमा नगरपालिका प्रमुख खुमनारायण श्रेष्ठ र महासंघ शाखा अध्यक्ष राधेश्याम खतिवडाले हस्ताक्षर गर्नुभयो । यो बर्ष बिमाका लागि नगरपालिकाले एकलाख रुपैयाँ सहयोग गरेको छ ।
जिल्लाका पत्रकारहरुको सामुहिक दुर्घटना बिमा आगामि बर्षहरुमा पनि निरन्तरताका लागि नीतिगत निर्णय गर्ने प्रतिवद्धता नगर प्रमुख श्रेष्ठले ब्यक्त गर्नु भएको छ । महासंघ संग संस्थागत रुपमा सहकार्य गर्न पाएकोमा खुसी ब्यक्त गर्दै प्रमुख श्रेष्ठले नगरका हरेक गतिविधिको सञ्चारक्षेत्रबाट निगरानी र खवरदारीको अपेक्षा रहेको बताउनुभयो ।
सामुहिक दुर्घटना बिमाले पत्रकारको भौतिक सुरक्षाका सवालमा दुर्घटना जस्तो भवितव्यमा जोखिम बहनमा भुमिका खेल्ने महासंघ अध्यक्ष खतिवडाले बिश्वास ब्यक्त गर्नुभयो । पत्रकारको पेशागत र भौतिक सुरक्षामा महासंघ गम्भीर रहेको उहाँको भनाइ छ ।
बिमाका लागि सेवा प्रदायक विभिन्न तीनवटा कम्पनी संग प्रस्ताव माग गरेकोमा जनरल ईन्स्योरेन्श कम्पनीलाई छनौट गरी सोहि मार्फत बिमा गरेको छ । चितवनमा ५ वटा दैनिक पत्रिका, १३ वटा साप्ताहिक पत्रिका, ४ वटा टेलिभिजन, २२ वटा रेडियो र २४ वटा अनलाइन प्रकाशन प्रशारणमा रहेका छन् ।