नारायणगढ–मुग्लिन सडकमा २५ ठाउँमा पहिरोको जोखिम

काठमाडौं, ३१ जेठ : नारायणगढ–मुग्लिन सडकको २५ ठाउँमा पहिरोको जोखिम रहेको त्यहाँको डिभिजन सडक कार्यालयले जनाएको छ । कार्यालयका प्रमुख रमेशप्रसाद पौडेलकाअनुसार तीमध्ये चार ठाउँ उच्च र सात ठाउँ कम जोखिममा छन् । मौरी पुल, नाम्सी पुल, कालीखोला र तुइन पुल क्षेत्रमा पहिरोको उच्च जोखिम छ । सडकको नाम्सी, कालीखोला र तुइन खोलाको पहिरो नियन्त्रणका लागि ५२ करोड रुपैयाँ खर्च हुने अनुमानित लागत छ । ती ठाउँमा ‘स्लोप स्टेवलाइजेसन’ र ‘रक नेटिङ’ को काम गर्नुपर्नेछ ।

यसैगरी पहिरोको कम जोखिम भएका गाईघाट, डुम्रे पुल, घुमाउने, सिमलताल, जलवीरे र पाँच किलोमा पनि सडक व्यवस्थापन गर्नुपर्नेछ । २०८० सालको बर्खामा यो सडकमा ३० र २०७९ सालमा ३६ पटक भू–क्षय हुँदा पटक–पटक गाडी आउजाउ अवरुद्ध भएको थियो । डिभिजन सडक कार्यालयका इन्जिनियर सागर कार्कीले पानी परेपछि जुनसुकै बेला भू–क्षयको जोखिम रहेकाले सेती दोभान, मौरी पुल र चार किलोमा उपकरण तम्तयार गरिने बताउनुभयो ।

हेटौँडामा रहेकाे हेवी इक्युप्मेन्ट डिभिजन र डुम्रेको यान्त्रिक कार्यालयबाट पनि उपकरणको प्रबन्ध गरिनेछ । यही सडक खण्डको केराबारीमा नेचरबेस सोलुसन नामको संस्थाले बायो इन्जिनियरिङ प्रविधिबाट पहिरो नियन्त्रण अध्ययन गरिरहेको छ । सडकका खहरे खोला, भतेरीको ओरालो, गाईघाट, सेतीदोभान, जलवीरे, २६ किलो र चार किलो क्षेत्रका ११ ठाउँमा अध्ययन गर्न संस्थाले सडक विभागलाई पत्राचार गरेको छ । -रासस

संबन्धित शिर्षकहरु

आज पनि सुनको भाउ घट्यो

पर्सि देशका धेरै ठाउँमा पानी पर्ने सम्भावना : बढ्दो गर्मीबाट केही राहत पुग्ने

इबोला भाइरसविरुद्धको खोप विकास गरेको रुसको दाबी