मुग्लिन–पोखरा सडकअन्तर्गत ५३ किलोमिटर खण्डमा कालोपत्र सम्पन्न

तनहुँ, १३ असार :  मुग्लिन–पोखरा सडकअन्तर्गत ५३ किलोमिटर खण्ड कालोपत्र भएको छ । ८० किलोमिटर लामो सडकको पूर्वी ३३ र पश्चिमी खण्डमा २० किलोमिटर कालोपत्र गरिएको हो । मुग्लिन–पोखरा सडक विस्तार आयोजना कार्यालयका अनुसार बाँकी भागमा धमाधम काम भइरहेको छ । अहिलेसम्म पूर्वी खण्डमा ६२ र पश्चिममा २८ प्रतिशत भौतिक प्रगति भएको छ ।

असारदेखि असोजसम्म ‘मनसुन’ सक्रिय हुने भएकाले अहिलेलाई कालोपत्र गर्न छाडेर पानी निकासका निम्ति नाला, ‘रिटेनिङ वाल, कल्भर्ट’ लगायत संरचना निर्माण द्रुत गतिमा भइरहेको आयोजना कार्यालय पश्चिमका इन्जिनियर नारायण पौडेलले बताउनुभयो । यसैबीच पूर्वी खण्डमा निर्माणाधीन ठूला तीन पुलमध्ये डुम्रे बजार नजिकको पुल बनिसकेको छ भने आँबुखैरेनी र दमौली नजिकको अन्तिम चरणमा पुगेको छ । तनहुँको मादी नदीमा ‘आर्क डिजाइन’को पुल निर्माणाधीन छ ।

एसियाली विकास बैंक (एडिबी)को सहुलियतपूर्ण ऋण सहयोगमा पोखरादेखि मुग्लिनसम्मको दुई लेनको सडकलाई विस्तार गरी फराकिलो र स्तरीय बनाउन मुग्लिन–पोखरा सडक योजनामार्फत काम भइरहेको छ । आयोजनाको काम आउँदो भदौभित्रमा सम्पन्न गर्नुपर्ने सम्झौता छ । -रासस

संबन्धित शिर्षकहरु

आज पनि सुनको भाउ घट्यो

पर्सि देशका धेरै ठाउँमा पानी पर्ने सम्भावना : बढ्दो गर्मीबाट केही राहत पुग्ने

इबोला भाइरसविरुद्धको खोप विकास गरेको रुसको दाबी