नारायणी नदीको बाढीले भरतपुर–३ को झोलुङ्गे पुल बगायो, १ सय ७१ जनालाई सुरक्षित ठाउँमा सारियो

चितवन, २३ असार :  नारायणी नदीको बाढीले चितवनको भरतपुर महानगरपालिका–३ मा रहेको झोलुङ्गे पुल बगाएको छ । न्यूरोड र नगरवन जोड्ने नारायणी नदीमा रहेको झोलुङ्गे पुल बाढीले बगाएको हो । प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवका अनुसार गएराति साढे ११ बजे बाढीले दुवैतर्फको पिल्लर भत्काएर पुल बगाएको हो ।

नारायणीमा पानीको बहाव नघटेकाले नदी तटीय क्षेत्रमा बसोबास गर्नेलाई सावधानी अपनाउन उहाँको अनुरोध छ । नारायणी नदीमा पानीको सतह बढ्दा एक सय ७१ जनालाई सुरक्षित ठाउँमा सारिएको छ । प्रमुख जिल्ला अधिकारी यादवका अनुसार भरतपुर महानगरपालिका–२ का २६ जना, बालकुमारी नर्सिङ कलेजको भवनमा बस्ने चार जना, भरतपुर–१७ गोब्रेनीका ५४, वडा नम्बर १ देवघाटको नदी किनारमा बस्दै आएका २८ तथा वडा नम्बर १६ गुम्बाचोकका ५९ जनालाई सुक्षित ठाउँमा सारिएकाे छ ।

उनीहरूलाई सुरक्षाकर्मीले डुङ्गाको सहायताले सुरक्षित ठाउँमा सारेका हुन् । -रासस

संबन्धित शिर्षकहरु

प्रतिनिधि सभाको बैठक आज बस्दै: (सम्भावित-कार्यसूचीसहित)

सुनचाँदीको भाउ आज पनि घट्यो

आज काठमाण्डौ उपत्यकासहित १८ जिल्लामा आकस्मिक बाढीको मध्यम जोखिम