निरन्तरको वर्षाका कारण नारायणगढ–बुटवल सडक खण्ड विस्तारको काम ठप्प

नवलपरासी, २४ असार : निरन्तरको वर्षाका कारण नारायणगढ–बुटवल सडक खण्ड विस्तारको काम ठप्प भएको छ । नारायणगढ–बुटवल सडक विस्तार योजना पूर्वी खण्डका योजना प्रमुख आशिष थापामगरले अहिले सडक विस्तारको कामभन्दा पनि सहज रूपमा गाडी सञ्चालन गराउनका लागि पहल भइरहेको जानकारी दिनुभयो । बर्खामा सडक विस्तारको काम गर्न सकिने अवस्था नभएपछि अहिले यातायात सेवा सहज बनाउनेतर्फ ध्यान दिएको याेजना प्रमुख थापामगरकाे दाबी छ ।

सडकमा भएका खाल्डाखुल्डी पुर्ने, वर्षाले बाटो चिप्लो भएको ठाउँमा गिटी राख्ने, पहिरो हटाउनेलगायतको काममा निर्माण व्यवसायीलाई खटाइएको उहाँकाे भनाइ छ । २०७५ सालको माघमा सडक विस्तारका लागि सम्झौता भएर काम शुरु भएकोमा झन्डै ६ वर्ष बितिसक्दा पनि भौतिक प्रगति जम्मा ५२ प्रतिशतमात्रै देखिएको छ । हिलो, धूलो र खाल्डाखुल्डीले चालक, यात्रु र सडक वरपरका बासिन्दा हैरान भएका छन् । पटक–पटक सडक बन्द हुने समस्या बढिरहेको छ ।

नारायणगढ–बुटवल सडकको १ सय १४ किलोमिटरमध्ये पूर्वी खण्डमा ६५ किलोमिटर सडक पर्दछ । समयमै सडक विस्तारको काम नसकेको निर्माण कम्पनी चाइना स्टेट इन्जिनियरिङ कर्पोरेशन लिमिटेडले दोस्रो पटक पाएको म्याद थपको अवधि यही साउन ८ गते सकिँदैछ । म्याद सकिन लागेपछि निर्माण कम्पनीले अझ एक वर्ष म्याद थपका लागि निवेदन दिएको छ । कति दिन म्याद थप गर्दा उचित हुन्छ भन्ने विषयमा आफूहरू छलफलमा नै रहेको आयोजना प्रमुख मगरले बताउनुभयो । -रासस

संबन्धित शिर्षकहरु

भूकम्पपछि भेनेजुएलामा मानवीय सङ्कट गहिरिँदै गएको राष्ट्रसंघको भनाइ

अल्जेरियालाई हराउँदै स्विट्जरल्यान्ड विश्वकपको अन्तिम १६ मा

क्रोएसियालाई हराउँदै पोर्चुगल विश्वकपको अन्तिम १६ मा