सिमलताल दुर्घटना : दुई वटा बसमा गरी ६५ जना यात्रु रहेको प्रशासनद्वारा जानकारी

रासस

काठमाडौं, ३० असार : चितवनको भरतपुर महानगरपालिका–२९ सिमलतालमा शुक्रवार बिहान पहिरोमा परी त्रिशूली नदीमा खसेका दुई वटा बसमा ६५ जना यात्रु रहेको जिल्ला प्रशासन कार्यालयले जानकारी दिएको छ । चितवनका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवका अनुसार त्रिशूलीमा हराइरहेको काठमाण्डौबाट रौतहटको गौरका लागि छुटेको गणपति डिलक्स बसमा टिकट काउन्टरको चलानमा २७ जनाको नाम रहेको र घटनापछि सम्पर्कमा आएका आफन्तले टिपाएको विवरणका आधारमा गणपतिमा थप ११ जना यात्रु रहेको खुलेको छ ।

जम्मा ३८ जना यात्रु रहेको यो बसका तीन जना यात्रु भने सकुशल छन् । त्यस्तै वीरगन्जबाट काठमाण्डौका लागि छुटेको एन्जल बसको चलानमा २३ जना र आफन्त सम्पर्कमा आएर दिएको विवरणका आधारमा थप चार जना गरी जम्मा २७ जनाले यात्रा गरेको प्रमुख जिल्ला अधिकारी यादवले बताउनुभयो । दुवै बसमा रहेका यात्रुमध्ये तीन जना सकुशल रहेको र बाँकी ६२ मध्ये आज बिहानसम्म चारवटा शव फेला परेको छ । तीमध्ये तीनवटा शवको आफन्तले सनाखत गरेका छन् । अझै ५८ जनाको अवस्था थाहा हुन सकेको छैन । बस र बेपत्ता यात्रुको आज पनि खोजी भइरहेको छ ।

संबन्धित शिर्षकहरु

आज पनि सुनको भाउ घट्यो

पर्सि देशका धेरै ठाउँमा पानी पर्ने सम्भावना : बढ्दो गर्मीबाट केही राहत पुग्ने

इबोला भाइरसविरुद्धको खोप विकास गरेको रुसको दाबी