बारा, २२ मंसिर : बाराकाे महागढीमाई नगरपालिका–१ वरियापुर गाउँमा रहेकाे गढीमाई मन्दिरको मेलामा दिनहुँ भक्तजनहरूको घुइँचो बढ्दै गएकाे छ । प्रत्येक पाँच वर्षमा एक पटक लाग्ने गढीमाईको मेलामा दैनिक उल्लेख्य सङ्ख्यामा भक्तजनहरू दर्शनका लागि पुगिरहेका छन् ।
नेपालमा मात्रै नभई छिमेकी देश भारतसहित विश्वमा प्रसिद्धि प्राप्त रहेको गढीमाईमा भक्तजनकाे भीड लागिरहेकाे आयाेजकले जनाएकाे छ । भक्तजनहरूलाई असुविधा नहोस् भनेर पङ्क्तिबद्ध भई माताको दर्शन गर्ने व्यवस्था मिलाएकाे आयाेजककाे भनाइ छ । महागढीमाई नगरपालिकाका मेयर उपेन्द्रप्रसाद यादवले मेलामा सुरक्षाकाे उचित प्रबन्ध मिलाइएकाे र कतै कमजोरी भएमा सुझाव दिन आग्रह गर्दै सुधारको प्रयास गरिने बताउनुभयाे ।
मेलालाई व्यवस्थित बनाउन ठूलाे सङ्ख्यामा नेपाल प्रहरी, सशस्त्र प्रहरी, नगर प्रहरी, स्वयंसेवक खटाइएकाे छ । आजदेखि मेलामा अझै भीड बढ्ने भन्दै मेयर यादवले सुरक्षित भएर घुम्न एवम् दर्शन गर्न भक्तजनहरूलाई आग्रह गर्नुभएकाे छ ।