अमिर रामदाम,
चन्द्रपुर(रौतहट), ६ पुस : सुनचाँदी विलासिता नभई सम्पत्ति रहेको नेपाल सुनचाँदी व्यवसायी महासंघका अध्यक्ष अर्जुन रसाईलीले बताउनु भएको छ । चन्द्रपुर सुनचाँदी व्यवसायी संघको चौंथो वार्षिक साधारण सभा तथा दोस्रो अधिवेशन एवम् नवनिर्मित भवन उद्घाटन समारोहलाई आज सम्बोधन गर्दै अध्यक्ष रसाईलीले सो कुरा बताउनु भएको हो ।
अध्यक्ष रसाईलीले भन्नुभयो “हिजो मात्र फोन गरेर बैंकहरुलाई दबाब दिएको छु, आउने सोमबार कुनै पनि हालतमा मोफसलका व्यवसायीहरूमाझ सुन वितरण हुनुपर्छ भनेको छु । ” सम्भवतः नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लिमिटेडले सोमबार मोफसलमा सुन वितरणको तयारी गर्दैछ ।
सुनचाँदी नेपाल आयात भएपछि विक्री वितरण कसरी गर्ने भन्ने कार्यविधि निर्माणका लागि अर्थ मन्त्रालयका सहसचिव, वाणिज्य मन्त्रालयका सहसचिव, बैंकर्स संघका सिईयो, उद्योग वाणिज्य महासंघका कार्यकारी निर्देशक र राष्ट्र बैंकको समेत सहभागितामा तयार गरेर नेपाल सुनचाँदी व्यवसायी महासंघलाई दुई महिना भित्र कार्यविधि उपलब्ध गराउने गरी सहमति भएको अध्यक्ष रसाईलीले जानकारी दिनु भएको छ ।
अध्यक्ष रसाईलीले सुनचाँदी व्यवसायीहरूलाई इमान्दारीपूर्वक राज्यको नीति भित्र रहेर व्यवसाय सञ्चालन गर्न अनुरोध गर्नुभएको छ । उहाँले अबउप्रान्त सुनचाँदी कारोबार गर्दा बैंक मार्फत गर्न आग्रह गर्नुभएको छ।
सुनचाँदी व्यवसायमा विभिन्न किसिमका समस्याहरू रहेको र सो समस्याहरु समाधानका निमित्त महासंघ लागि परिरहेको जानकारी दिँदै अध्यक्ष रसाईलीले भन्नुभयो “ग्राहकको मन जित्ने किसिमको कार्य गर्नुहोस् ” ।
कार्यक्रममा रौतहट क्षेत्र नं ४(क) का प्रदेश सभा सदस्य युवराज भट्टराई समिरले सुनचाँदी व्यवसायीहरूलाई समस्या परेको वखत आवश्यक सहयोगको लागि आफू तत्पर रहने बताउनुभयो।
कार्यक्रममा नेपाल सुनचाँदी व्यवसायी महासंघ मधेश प्रदेश सभापति रामजी साह, नेपाल सुनचाँदी व्यवसायी महासंघका पदाधिकारी सदस्य एवम् चन्द्रपुर सुनचाँदी व्यवसायी संघका संरक्षक प्रकाश गहतराज लगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो । कार्यक्रमको अध्यक्षता चन्द्रपुर सुनचाँदी व्यवसायी संघका अध्यक्ष प्रल्हाद रामुदामले गर्नुभएको थियो।