चितवन, १७ माघ : भीमनगर माध्यमिक विद्यायलको ६५ औं वार्षिकोत्सव एवम् अभिभावक दिवस सम्पन्न भएको छ । वि.सं. २०१७ साल माघ १७ गते स्थापना भएको विद्यायलले ३ दिवसीय रुपमा वार्षिकोत्सव मनाएको हो । बागमती प्रदेशको प्रदेश सांसद माया श्रेष्ठ प्रमुख अतिथि रहेको कार्यक्रममा प्रधानाध्यापक कोमलनाथ घिमिरेले विद्यालयको वार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए । कार्यक्रममा बोल्दै प्रदेश सांसद श्रेष्ठले विद्यालय गुणस्तरीय शिक्षाका साथ भौतिक संरचना समेत सम्पन्न रहेको बताइन् । आफ्नो कार्य अवधिमा प्रदेश सरकारबाट थप बजेट विनियोजन गर्ने समेत प्रतिबद्धता जनाइन् ।
सहायक प्रधानाध्यापक सविन न्यौपानेका अनुसार कार्यक्रममा, विभिन्न अक्षय कोषहरुबाट छात्रवृत्ति वितरण, आफ्नो विषय सतप्रतिशत नतिजा दिने शिक्षकहरुलाई सम्मान, कार्यसम्पादन मुल्यांकनबाट उत्कृष्ट शिक्षक तथा कर्मचारी सम्मान, विज्ञान तथा कृषि प्रदर्शनी, विषयगत प्रदर्शनी, विद्यार्थीबाट उत्पादित बोटबिरुवा तथा मलखादको विक्री वितरण, विविध साँस्कृतिक कार्यक्रम एवम् साँझमा दिपावली गरिएको बताए ।
साथै कार्यक्रममा विभिन्न काल खण्डमा विद्यालयमा शिक्षण गरी अवकाश लिने शिक्षकहरूलाई कदर पत्र प्रदान गरिएको थियो । विद्यालयका हरेक गतिबिधिमा सहभागी हुने अभिभावक समेत सम्मान गरिएको सहायक प्रधानाध्यापक न्यौपानेले बताए । कार्यक्रममा नेपाल पत्रकार महासंघ चितवनका अध्यक्ष बसन्त पराजुली, भरतपुर २० का वडा अध्यक्ष मुिक्तप्रसाद घले, कृषि तथा वन विज्ञान विश्वविद्यालयका डीन प्रा.डा.अर्जुन कुमार श्रेष्ठ, भरतपुर महानगरपालिकाका शौक्षिक प्रशासन महाशाखाका प्रमुख सुवाश चन्द्र आर्चाय, विरेन्द्र क्याम्पसका निवर्तमान क्याम्पस प्रमुख प्रा.दयाराम पौडेल लगायतका उपस्थित महानुभावले मन्तव्य राखेका थिए ।
उक्त कार्यक्रममा विद्यालयको वार्षिक गतिविधि समेटी तयार गरिएको बुलेटिन समेत विमोचन गरिएको थियो । सहायक प्रधानाध्यापक सविन न्यौपानेले सञ्चालन गरेको कार्यक्रम विद्यालय व्यवस्थापन समितिका अध्यक्ष लोकेन्द्र गुरुङको अध्यक्षतामा सम्पन्न भएको हो ।