चितवन, २३ माघ : सहकारी ठगी प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा का सभापति रवि लामिछाने जिल्ला अदालत चितवनमा बयान शुरु भएको छ । जिल्ला अदालत चितवनका सुचना अधिकारी अमृत विश्वकर्माका अनुसार बयान सकिएपछि थुनछेक बहस शुरू हुने छ । त्यसपछि न्यायाधीशले उनलाई साधारण तारेखमा छाड्ने, धरौटीमा छाड्ने वा थुनामा पठाउने भन्ने निर्णय गर्नेछन् ।
सहारा चितवन बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको बचत रकम हिनामिनाबारे मुद्दा दर्ता भएपछि लामिछाने आज अदालतमा उपस्थित भएका हुन् । हिजो लामिछानेसहित १५ जनाविरुद्ध जिल्ला अदालतमा मुद्दा दायर भएको हो । योसहित सहारा सहकारी ठगीमा अभियुक्तको सङ्ख्या ३२ पुगेको छ ।
चितवन–२ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित लामिछाने सहकारी प्रकरणपछि निलम्बित छन् ।



