सरोज खनाल, चितवन, १५ फागुन : प्राकृतिक तथा अध्यात्मिक सम्पत्तिको रुपमा रहेको माडी नगरपालिका १ स्थित बाल्मिकी आश्रम संरक्षण र सडक सहजताको अभावमा ओझेलमा परेको छ । बाल्मिकी ऋषिले तपस्या गरेको, सीतालाई संरक्षण दिइ राखिएको तथा बाल्मिकी ऋषि अन्तध्र्यान भएको ठाउँ भएकाले हिन्दु धर्ममा ठूलो महत्व राख्ने भएपनि त्यस ठाउँ दुर्गम भएका कारण ओझेलमा परेको हो ।
पौराणिक कथन अनुसार सीता माताले पाताल प्रबेश गरेको स्थान, लबकुश जन्मस्थल एवं लबकुशले घोडा बाधेको, सीताले सिलौटा पिंधेको स्थान जस्ता महत्वपुर्ण स्थान सो क्षेत्रमा रहेका छन् । माडीको नगरपालिका वडा नं. १ मा पर्ने सो भुमि चितवन राष्ट्रिय निकुञ्ज पार गरेर जानु पर्ने भएकोले पनि श्रद्दालु भक्तजनलाई दुःख हुने गरेको छ ।
तत्कालिन राजा महेन्द्रले बाह्र बिगाहा क्षेत्रफल मन्दिरलाई छुट्याएपनि अहिले चितवन राष्ट्रिय निकुञ्जले नै आफनो क्षेत्र भन्दै ओगटेको स्थानियको भनाइ छ । माडीबाट पदमार्ग खोल्न सके बाटो पनि छोटिने र माडीमा धार्मिक तिर्थालुलाई अझ सहज हुने यस क्षेत्रका वासिन्दाको भनाई छ । नगरपालिकाले बेलाबेलामा यसको सम्भाव्यताबारे छलफल गर्ने, भ्रमण गर्ने गरिरहेतापनि ठोस प्रभावकारी कार्यक्रम लागु हुन सकेको छैन ।



