महासंघको स्थापना दिवसको अवसरमा चितवनका पत्रकारको स्वास्थ्य परीक्षण

चितवन, १८ वैशाख : नेपाल पत्रकार महासंघको ७०औँ स्थापना दिवसको अवसरमा चितवनका पत्रकारहरुको स्वास्थ्य परीक्षण गरिएको छ । नेपाल पत्रकार महासंघ चितवनको आयोजना र जनस्वास्थ्य कार्यालय चितवनको प्राविधिक सहयोगमा बिहीबार १०० जना पत्रकारहरुको नसर्ने रोगहरुको स्वास्थ्य परीक्षण गरिएको हो । नसर्ने रोगहरुमा मधुमेह, मृगौला सम्बन्धि, रक्तचाप र उचाइ र तौलको आधारमा जोखिम भारवहन जाँच गरिएको थियो ।
यसअघि चैत १६ गते नै स्थापना दिवस मनाउने तयारी भएकामा पत्रकार सुरेश रजकको हत्या र सञ्चारमाध्यममा भएको आक्रमणका कारण स्थगित भएको थियो । चैत १६ गते काठमाडौंको तीनकुनेमा राजावादीले गरेको हिंसात्मक प्रदर्शनीका क्रममा पत्रकार रजकको हत्या र सञ्चारमाध्यमहरुको कार्यालय तोडफोड भएको थियो । महासंघको केन्द्रीय कार्यालयले गरेको परिपत्रका आधारमा बिहीबार पत्रकारहरुको स्वास्थ्य परीक्षण गरिएको हो ।
नेपाल पत्रकार महासंघ चितवन शाखाका कार्यबहाक अध्यक्ष दिपेन्द्र अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य नारायण अधिकारी प्रमुख अतिथि रहेका थिए । जनस्वास्थ्य कार्यालय चितवनका प्रमुख दिनेश रुपाखेती, महासंघ चितवनकी उपाध्यक्ष शान्ता अधिकारी लगायतले बोलेको थिए ।
स्थापना दिवसकै अवसरमा वैशाख २० गते प्रेस स्वतन्त्रता लगायतका विषयमा रचनात्मक कार्यक्रम गर्न महासंघले सबै प्रदेश समिति र जिल्ला समितिलाई अनुरोध गरेको छ । वैशाख २० गते विश्व प्रेस स्वतन्त्रता दिवस पनि हो ।

संबन्धित शिर्षकहरु

सुनको भाउ तोलामा एक हजार एक सय रुपैयाँले घट्यो

चलचित्र ‘नरसिंहा’ आजदेखि देशभर प्रदर्शनमा

सन् २०२४ मा बेलायतको कुल आप्रवासन सङ्ख्या आधा घट्यो