काठमाडौं, २६ चैत : प्रतिनिधसभाको उपसभामुख पदका लागि श्रम संस्कृति पार्टीकी रुबीकुमारी ठाकुर र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) की सरस्वती लामाको उम्मेदवारी दर्ता भएको छ । आज दिउँसो २ बजेसम्म उम्मेदवारी दर्ताको समय रहेकोमा ठाकुर र लामाले उम्मेदवारी दर्ता गराउनुभएको हो । उहाँहरू दुवै जना समानुपातिक सांसद हुनुहुन्छ । प्रतिनिधिसभाको सभामुखमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट डाेलप्रसाद (डीपी) अर्याल निर्विरोध निर्वाचित हुनुभएको छ ।
संवैधानिक व्यवस्थाअनुसार सभामुख र उपसभामुख फरक दल र लिङ्गको व्यक्ति हुनुपर्ने व्यवस्था छ । उपसभामुखको चुनाव भोलि हुँदैछ । यसैबीच रास्वपाले उपसभामुखमा श्रम संस्कृति पार्टीकी रुवी ठाकुरलाई समर्थन गरेको छ । ठाकुरको प्रस्तावकमा श्रम संस्कृति पार्टीका आरेन राई हुनुहुन्छ भने रास्वपाका अशोक चौधरी र श्रम संस्कृतिकी अम्बिकादेवी सङ्ग्रौलाले समर्थन गर्नुभएको छ ।
योसँगै उपसभामुखमा रुबी ठाकुर निर्वाचित हुने निश्चित भएको छ । सत्तारूढ दल रास्वपासँग एक्लै झन्डै दुईतिहाइ मत छ । यस्तै ठाकुरलाई प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले पनि समर्थन गर्ने भएको छ ।





