भारतमा झण्डै छ लाख सङ्क्रमित

नयाँदिल्ली, १७ असार:

महामारीका रुपमा फैलिएको कोरोनाभाइरसबाट सङ्क्रमित हुनेहरुको संख्या भारतमा छ लाख पुग्न लागेको छ । सरकारी अधिकारीहरुले बुधबार दिएको जानकारी अनुसार भारतमा हालसम्म कोरोनाभाइरसबाट पाँच लाख ८५ हजार ४९३ जना सङ्क्रमित भएका छन् ।

तीमध्ये पछिल्लो २४ घण्टामा मात्रै १८ हजार ६५३ जना कोरोनाभाइरसबाट सङ्क्रमित भएको अधिकारीहरुले जनाएका छन् । केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले दुई लाख २० हजार ११४ जना अझै पनि सङ्क्रमित अवस्थामै रहेको जनाएको छ ।

कुल सङ्क्रमितमध्ये तीन लाख ४७ हजार ९७९ जना सङ्क्रमणमुक्त भएको मन्त्रालयको तथ्याङ्कमा उल्लेख गरिएको छ । भारतमा कोरोनाभाइरसका कारण अहिलेसम्म १७ हजार ४०० जनाको मृत्यु भइसकेको छ । ती मध्ये ५०७ जनाको मृत्यु पछिल्लो २४ घण्टामा भएको हो ।

प्रदेश अनुसार हेर्दा भारतमा सबैभन्दा धेरै सङ्क्रमित महाराष्ट्रमा देखिएका छन् । त्यहाँ कुल सङ्क्रमितको संख्या एक लाख ७४ हजार ७६१ पुगेको छ । त्यसैगरी तमिलनाडुमा ९० हजार १६७ जना सङ्क्रमित भएका छन् ।

अधिकारीहरुका अनुसार तमिलनाडुमा एक हजार २०१ जनाको मृत्यु भएको छ भने दिल्ली प्रदेशमा ८७ हजार ३६० जना सङ्क्रमित भएका छन् । (रासस/एएनआई)

संबन्धित शिर्षकहरु

गणतन्त्र दिवस ३ दिन मनाइने, प्रधानमन्त्रीकाे अध्यक्षतामा मूल समाराेह समिति गठन

जलवायु परिवर्तन, हिमाल र मानवताको भविष्यको विषयमा छलफल गर्न सगरमाथा संवाद शुरू

‘हेल्लो काँशिराम’ र ‘के घर के डेरा घर नं. २’ आजदेखि प्रदर्शनमा