दश वर्षपछि मेघौली पर्यटन महोत्सव

चितवन, ६ फागुन :
पश्चिम चितवनको पर्यटकीय नगरी मेघौलीमा १० बर्षपछि महोत्सव आयोजना गरिएको छ । मेघौलीको पर्यटन प्रर्वद्धन गर्नका लागि ५ औँ मेघौली पर्यटन महोत्सव २०७६ गर्न लागिएको हो ।
मेघौली पर्यटन विकास समिति, भरतपुर महानगरपालिका वडा नम्वर २७, २८ तथा मेघौली उपभोक्ता समितिको आयोजनामा यही फाल्गुण १८ देखि २४ गते सम्म महोत्सव हुन लागेको सोमवार पत्रकार भेटघाट कार्यक्रम गरी जानकारी दिईएको थियो ।

मेघौलीमा चितवन राष्ट्रिय निकुञ्जसंगै जैविक विविधताको दृष्टिकोले महत्वपुर्ण मानिएका धेरै ताल तलैया, सिमसार क्षेत्र र आदिवासी जनजातिको मुख्य बसोवास क्षेत्र भएकाले त्यसको प्रर्वद्धन गर्न महोत्सवको आयोजना गरिएको संयोजक हरिचन्द्र महतोले जानकारी दिनुभयो । मेघौलीका समुदायको विकास पर्यटनवाटै हुने भएकाले महोत्सवको आयोजना गरिएको महतोको भनाई छ ।

सोही अवसरमा बोल्दै प्रदेश सांसद कृष्ण भुर्तेलले चितवनबाट एकमात्र मेघौली वागमती प्रदेशको १० औँ पर्यटकीय गन्तव्यमा परेको स्मरण गराउँनुभयो । उहाँले मेघौलीमा पर्यटकका लागि साढे दुई सय जना अट्ने साना ठुला होटल तथा होमस्टे रहेको जानकारी दिनुभएको छ ।
भरतपुर देखि २५ किलोमिटरको दुरीमा रहेको मेघौलीमा पर्ने राप्ती, नारायणी नदीसंगै नौ वटा वटा सामुदायीक वनमा घुम्नका लागि पर्यटक आउने गर्दछन् ।

महोत्सव मेघौलीको हात्तिपोलो खेल मैदानमा हुनेछ । महोत्सवमा थारुका विभिन्न नाँचसंगै कुमाल जातिको पान्दुरे, मगर जातिको कौडा, गुरुङ जातिको घाटु, ब्राह्मण जातिको शिव पार्वती, राधाकृष्ण, नेवार जातिको लाखे नाँचहरु प्रस्तुत गरिने छ ।

त्यस्तै जंगल सफारी, राष्ट्रिय दोहरी तथा हास्यव्यङ्ग्य कलाकारहरुको प्रस्तुती, स्थानीय थारु, कुमाल, नेवारी, मगर, गुरुङ खानाको परिकार, वन्यजन्तु सम्वन्धी बृत्तचित्र, स्थानीय कृषि उत्पादन, हस्तकला तथा औद्योगिक प्रर्दशनी रहने मुल आयोजक समितीका सचिव पिताम्बर अर्यालले जानकारी दिनुभयो । यसअघि तत्कालिन गाउँ विकास समितिबाट २०५७ सालबाट सुरु भएको महोत्सव २०६०, ०६२ र ०६६ सालमा समेत भएको थियो ।

संबन्धित शिर्षकहरु

गणतन्त्र दिवस ३ दिन मनाइने, प्रधानमन्त्रीकाे अध्यक्षतामा मूल समाराेह समिति गठन

जलवायु परिवर्तन, हिमाल र मानवताको भविष्यको विषयमा छलफल गर्न सगरमाथा संवाद शुरू

‘हेल्लो काँशिराम’ र ‘के घर के डेरा घर नं. २’ आजदेखि प्रदर्शनमा