नेकपा स्थायी कमिटी बैठक आज बस्दै

काठमाडौँ, २ साउन :

पटकपटक स्थगित हुँदै आएको सत्तारुढ नेकपाको स्थायी कमिटीको बैठक आज बस्दैछ । प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीको राजीनामा मागपछि बढेको विवादका कारण बैठक स्थगित हुँदै आएको थियो ।

असार १७ यता चार पटकसम्म स्थगित स्थायी कमिटी बैठक आज बिहान ११ बजेका लागि बोलाइएको हो । यस बीचमा शीर्ष नेताहरुले सहमतिको प्रयास गरे पनि अझै टुंगिएको छैन । सहमतिको लागि अझै केही समय लिने नेताहरुको तयारी छ ।

आजको स्थायी कमिटी बैठक औपचारिकताको लागि मात्रै बस्ने र स्थायी कमिटीबाट केन्द्रीय कमिटी बैठक बोलाउने तयारी भएको छ । प्रधानमन्त्रीनिवास बालुवाटारमा हिजो भएको अध्यक्ष ओली, अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपालसहितको छलफल निष्कर्षविहीन भएपछि स्थायी कमिटी बैठक रोकेर केन्द्रीय कमिटी बैठक बोलाउने र त्यसबीचमा सहमतिको प्रयास गर्ने नेताहरूको तयारी छ ।

गएको असार १० गतेदेखि सुरु भएको स्थायी कमिटीको बैठकमा सरकार हटाउन छिमेकी भारत र नेताहरू भित्रभित्र लागेको भनी प्रधानमन्त्री ओलीले दिएको पछिल्लो अभिव्यक्ति र नेकपा (एमाले) नामक पार्टी निर्वाचन आयोगमा दल दर्ताको निवेदन परेको विषयले प्रवेश पाएपछि विवाद छताछुल्ल भएको हो ।

सचिवालय र स्थायी कमिटीका सदस्यहरुले राजीनामा दिन दबाब दिए पनि पार्टी अध्यक्ष एवं प्रधानमन्त्री ओलीले राजीनामा नदिने बताउँदै आउनुभएको छ ।

संबन्धित शिर्षकहरु

जर्मनी विश्वकप फुटबलको नकआउट चरणमा : नेदरल्यान्ड्सले स्वीडेनलाई हरायो

हिमालय दण्डपाणि न्यौपाने माध्यमिक विद्यालयको कक्षा १२ को परिक्षामा ९३.९३ % विद्यार्थी उतिर्ण

विद्यालयलाई सरकारको निर्देशन – ‘विद्यार्थीको व्यक्तिगत विवरण गोप्य राख्नू’