चितवन, १८ साउन ।
कोरोना महामारीसंगै जारी गरिएको लक डाउनका कारण अरु थुप्रै क्षेत्र जस्तै मुलुकको शैक्षिक क्षेत्र पनि नराम्ररी प्रभावित हुन पुग्यो । विद्यालय तहको एस ई ई परिक्षा समेत नियमानुसार हुन पाएन । कलेज एवं विश्वविद्यालय तहका परीक्षाहरु समेत स्थगित छन् ।
यसैबेला चितवनका केही सामुदायिक विद्यालयहरुले निजी स्रेतका शिक्षकहरुमाथि गम्भिर अन्याय गरेका छन् । यतिसम्मकि कतिपयले त शिक्षकलाई जागिरबाट समेत निकालेका छन् । लक्ष्मी मा वि जगतपुर र बाह्रघरे मा वि बाह्रघरेले निजी स्रोतमा कार्यरत सबै शिक्षकलाई अनिवार्य अवकाश दिँदै जागिरबाट निकालेको खुलासा भएको छ ।
यता, भानु मा वि पहारिलोटार र शोशी मा वि शोशीले क्रमशः गत चैत्र र बैशाख देखि हाल सम्मको तलब शिक्षकहरुलाई उपलब्ध गराएका छैनन् । यी विद्यालयहरुले लक डाउनभर समेत निजी शिक्षकहरुलाई काम गर्न विद्यालयमै उपस्थित गराएको पाईएको छ । तर, पारिश्रमिक भने जम्मा ३३ प्रतिशत दिने निर्णय गरेका छन् ।
यसैबिच पद्य्म नारायण धर्मकुमारी मल्ल मा वि अमृतनगरले निजी स्रोतमा कार्यरत शिक्षकहरुलाई लक डाउन अवधि भरको आधा मात्रै तलब खुवाएर बेतलबी बिदामा राखेको बुझिएको छ ।
यसरी मर्काका परेका शिक्षकहरु अब एकिकृत हुँदै संघर्ष गर्ने मनस्थितीमा छन् । यी त केही प्रतिनिधि घटनाहरुमात्र हुन् । महानगर भित्रका धेरैजसो विद्यालयहरुले निजी स्रोतका शिक्षकहरुलाई दोस्रो दर्जाको शिक्षक सरह ब्यबहार गरेको पाईएको छ । विद्यालयमा अंग्रेजी माध्यममा पढाई गर्ने सवालमा होस् या शैक्षिक गुणस्तर अभिवृद्धि गर्ने अन्य कुनै पहलका निम्ति होस्, निजी स्रोतबाट सेवा लिने गरी भर्ती गरिएका त्यस्ता शिक्षकको भुमिका अहम् हुने गर्दछ ।
हिजो नभई नभएका ती शिक्षकहरु भोली फेरी चाहिन्छ भन्ने यथार्थतालाई आत्मसात नगरी शिक्षकको रोजीरोटी माथी प्रहार गर्नु नै अन्तिम बिकल्प देख्नेहरुले एक पटक राम्ररी सोच्नुपर्ने दिन आएको छ ।
विद्यालय प्रशासनले वा ब्यवस्थापन समितीले तलव खुवाउँने बैकल्पिक उपाय नअपनाई पारिश्रमिक कटौती गर्ने तथा शिक्षक निष्काशन सम्म गर्ने हर्कत देखाउँनुले विधिको शासन र लोकतान्त्रिक राज्यको धज्जी उडाईरहेका छन् । यसप्रति भरतपुर महानगरपालिकाले कानमा तेल हालेर मुक दर्शक बनिरहेको छ ।





