भरतपुर, ८ फागुन :
भरतपुर महानगरपालिका वडा नम्बर १५ को रामपुरमा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाका लागि आर्थिक सहयोग जुट्ने क्रम जारी छ । जनस्तरबाट निर्माण हुन लागेको रङ्गशालाका लागि विभिन्न व्यक्ति तथा संस्थाहरुले सहयोग गर्दै आइरहेका छन् । यसै सन्दर्भमा भरतपुरमा रहेको प्रेरणा स्कुलको तर्फबाट आर्थिक सहयोग भएको छ ।
कलेजका अध्यक्ष, प्रिन्सिपल, शिक्षक तथा विद्यार्थीसहित गएको टोलीले रङ्गशाला निर्माणका लागि आर्थिक सहयोग गरेको हो । सो क्रममा विद्यालयले रंगशाला निर्माणका लागि एक लाख एक हजार १११ रुपैयाँको चेक धुर्मुस सुन्तली फाउण्डेशनका अभियान्ता कुमार कट्टेललाई प्रदान गरेका छन् ।
विद्यालयका प्रिन्सिपल मोहन लामा तथा सञ्चालक समिति अध्यक्ष सहितले कट्टेललाई चेक हस्तान्तरण गरेका हुन् ।
चेक हस्तान्तर गर्दै अध्यक्ष डा प्रेमसागर भण्डारीले रङ्गशाला निर्माणमा विद्यालयको समेत साथ र सहयोग रहेको जनाउन आर्थिक सहयोग गरिएको बताए । भरतपुरमा निर्माण भइरहेको रङ्गशालाले सबैभन्दा बढी लाभ यहीँका जनताले लिने भएकाले सबैको साथ र सहयोग हुन आवश्यक रहेको भण्डारीको भनाइ छ । कार्यक्रममा धुर्मुस सुन्तली फाउन्डेशनका अभियान्ता कलाकार कुमार कट्टेल जिग्रीले विद्यालयले समूह बनाएर एउटा च्यारिटी खेल खेल्नका लागि आग्रह गरेका थिए ।
नमुना रंगशालामा क्रिकेट प्रतियोगिता गराउन देशका विभिन्न स्थानबाट खेलाडीहरु आउने क्रम जारी गरेको भन्दै शैक्षिक संस्थाबाट समेत खेल खेलिनुपर्ने बताए ।