काठमाडौँ, ४ भदौ :
नेपाली नारीको महान् पर्व हरितालिका तीजको अघिल्लो दिन आज घरघरमा दर खाने गरिन्छ । तीजका दिन निराहार व्रत बस्नका लागि अघिल्लो दिन खाइने अडिलो रसिलो पोषिलो परिकारलाई दरखाने भनिन्छ ।
दर खाँदा घरपरिवारका साथै विवाहिता चेली माइतीघर आएर बडो हर्षपूर्वक घिउ, दूघ दहीसहित अनदी, जेठोबूढो, जर्नेली, मार्सीचामलको खाजा वा चाम्रे खाने गरिन्छ । साथमा फलफूल तरकारी तथा मिष्ठान्न परिकार पनि खाइन्छ । तीजका दिनमा पानी पनि नखाई परिवारको सुखशान्तिका लागि भगवान शिवपार्वतीको उपासना गरी व्रत बस्ने परम्परा छ ।
शिवपार्वतीलाई सुम्निमा र पारुहाङका रुपमा सम्मान गर्ने किराँत समुदायमा काक्रो र दही मिसाएर खाने परिकारलाई दर भन्ने गरिएको कति विद्वानले उल्लेख गरेका छन् ।
यसरी दही र काक्रो खाँदा भदौको प्रचण्ड घामले उत्पन्न ताप शान्त पार्न सहयोग गर्ने बताइन्छ । दर खाएपछि माइती घरमा जम्मा भई चेलीबेटीले तीजको गीत गाउँदै नाचगान गर्दछन् । यस गीतलाई पूर्वी भेगमा संगिनी भन्ने गरिएको पाइन्छ भने पश्चिम नेपालको मगर वस्तीमा झोरा गाउने भनिन्छ ।
यसले गर्दा तीज विभिन्न जातजातिको साझा सांस्कृतिक पर्व बनेको छ । विगतका केही वर्षहरुमा एक महिनाअघिदेखि दर खान थाल्ने, भड्किलो गतिविधि गर्ने जस्ता विकृति देखिएपछि दर खाने परम्परामा दख्खल पुगेको टिप्पणी आउने गरेको थियो ।
तर अहिले आएर त्यो विकृति हट्दै आफ्नै मौलिक शैली र उत्पादनमा रमाउने संस्कृति स्थापित हुनथालेको पाइन्छ । यस वर्ष भने कोरोना भाइरसका कारण महामारी फैलिएको हुँदा आआफ्नै घरमा बसेर दर खाइँदै छ ।




