चितवन, १५ मङ्सिर :
वरिष्ठ समाजसेवी मैयाँदेवी श्रेष्ठले बिपी स्मृति भवन निर्माणका लागि भरतपुर महानगरपालिका–११ मा करीब १३ धुर जमीन उपलब्ध गराउनुभएको छ ।
नेपाली काँग्रेस चितवनका सभापति जीतनारायण श्रेष्ठले आज भवनको शिलान्यास गर्दै समाजसेवी मैयाँदेवीले काँग्रेसको केन्द्रीय कार्यालयदेखि जिल्ला र वडासम्मलाई जग्गा उपलब्ध गराएर सहयोग गर्नुभएको बताउनुभयो । काँग्रेस भरतपुर–११ ले निर्माण गर्न लागेको भवनका लागि पार्टीले आवश्यक सहयोग गर्ने जानकारी उहाँले दिनुभयो ।
पार्टी वडा समितिका उपसभापति महेश्वर ढकालका अनुसार सो भवन रु एक करोडको लागतमा अत्याधुनिक तीन तलाको हुने छ । भवन निर्माणका लागि समाजसेवी श्रीप्रकाश कँडेलको संयोजकत्वमा आर्थिक समिति र कविराज अधिकारीको संयोजकत्वमा निर्माण समिति गठन गरिएको छ ।
सोही भवनको नजिक तीन वर्षअघि समाजसेवी मैयाँदेवीले नै उपलब्ध गराउनुभएको जमिनमा नेपाल प्रेस युनियनले ‘मैयाँदेवी सूचना केन्द्र ’ निर्माण गरेको छ ।(रासस)





