चितवन, फागुन १६ ।
मेघौलीमा हुने महोत्सवको तयारी अन्तिम चरणमा पुगेको छ । यही फागुन १८ गतेदेखि २४ गतेसम्म हात्तीपोलो मैदानमा हुने महोत्सवको करिब ९० प्रतिशत काम सकिएको आज नारायणगढमा आयोजित पत्रकार भेटघाट कार्यक्रम मार्फत जानकारी दिईयो । पश्चिम चितवनको सुन्दर पर्यटकिय नगरी मेघौलीमा दश वर्षपछि ‘हाम्रो गौरव हाम्रो शान, प्राकृतिक सम्पदा र संस्कृति हाम्रो पहिचान’ नारा सहित पाँचौं पटक पर्यटन महोत्सव गर्न लागिएको छ । नेपालमै पहिलो पटक २०५७ सालमा तत्कालिन अवस्थामा गाविस स्तरबाट महोत्सव गर्ने मेघौली पहिलो थियो । मेघौली हाल भरतपुर महानगरका २७ र २८ गरी दुई वडामा पर्दछ । २०६६ सालसम्म नियमित रुपमा हुँदै आएपनि त्यसयता महोत्सव हुन सकेको थिएन ।
कार्यक्रममा महोत्सव आयोजक मुल समारोह समितीका संयोजक हरिचन्द्र महतोले वि.सं. २०१७ सालमा तत्कालिन राजा महेन्द्रको निमन्त्रणामा महारानी एलिजावेथ द्धितियले मेघौली क्षेत्रको भ्रमण गरेको स्मरण गर्दै सरकारले तय गरेका १०० उत्कृष्ट गन्तब्यमा मेघौली पर्न नसकेकोमा दुःख ब्यक्त गर्नुभयो । महोत्सवमा स्थानिय थारु, कुमाल, मगर, गुरुङ, ब्राम्हण–क्षेत्री, दराई लगायतका आदिवासी, जनजाती एवं विभिन्न जातजातीका संस्कृतीहरु प्रस्तुत गरिने महतोको भनाई छ । त्यस क्षेत्रका प्रदेश सांसद कृष्ण प्रसाद भुर्तेलको पहलमा वागमती प्रदेश सरकारले भने मेघौलीलाई प्रदेशका १० उत्कृष्ट गन्तब्यमा समावेश गरेको छ । यसले मेघौलीलाई केही राहत दिलाएको स्थानियहरु बताउँछन् ।
महोत्सवमा आउँने दर्शकहरुको मनोरञ्जनलाई ख्यालगरि आयोजकले राष्टिय देखि स्थानिय सम्मका चर्चित कलाकारहरुलाई निम्ता गरेको छ । एक साता लामो महोत्सवमा देश विदेशमा छरिएका नेपालीहरुका प्रिय हाँस्य कलाकार मनोज गजुरेलदेखि युवा पुस्ताले अत्यन्त रुचाएका गायक तथा मोडेल दुर्गेश थापा, लोकप्रिय गायीका तथा बेली डान्सर प्रिती आले लगायतले माहोल तताउँने छन् । कलाकारहरु मिलन लामा, बबिता बानिया जेरी, तेजश रेग्मि, सम्झना भण्डारी, मुक्ति सापकोटा, सरिता गुरुङ श्रेष्ठ, ढाकाराम पौडेल, शक्ति गोदार, उमादेवि खनाल, जी वि सुनार लगायतको प्रस्तुती रहने छ । महोत्सवको प्रचारप्रसार कार्यक्रम अन्तरगत आजै मोटरसाईकल र्याली समेत निकालिएको थियो ।
महोत्सवमा जंगल सफारी, प्याराजम्प, खेलकुद, वन्यजन्तु सम्बन्धि बृत्तचित्र प्रदर्शनी, स्थानिय उत्पादन हस्तकला तथा औद्योगिक प्रदर्शनी लगायतका कार्यक्रमहरु समावेश गरिएको छ । करिब ९० ओटा ब्यवसायीक स्टल रहने महोत्सवको लागत करिब ४० लाख लाग्ने छ भने आयोजकले ५० लाख उठाउँने लक्ष्य लिएको छ ।

मेघौली पर्यटन विकास समिती, भरतपुर वडा नं. २७ र २८ कार्यालयका साथै मेघौली उपभोक्ता समितीले संयुक्त रुपमा महोत्सव आयोजना गरेका हुन् । प्रायोजकमा मालिका, राधाकृष्ण, सदाबहार र राप्ती हरियाली सामुदायीक वन रहेका छन् भने सह प्रायोजकमा राष्टिय वाणिज्य बैंक रहेको छ । यसैगरी वागमती प्रदेश सरकार, चितवन राष्टिय निकुञ्ज र स्थानीय वन समितीहरुले सहयोग गरेको महोत्सवको प्रबद्र्धकमा नेपाल पर्यटन बोर्ड र चितवन उद्योग वाणिज्य संघ रहेको छ भने संरक्षकमा भरतपुर महानगरपालिका रहेको छ ।
कार्यक्रममा उद्योग वाणिज्य संघ चितवनका अध्यक्ष राजु श्रेष्ठ, निवर्तमान अध्यक्ष सहनलाल प्रधान, पर्यटनविज्ञ विश्व सुवेदी, महोत्सव आयोजक मुल समारोह समितीका सचिव पिताम्बर अर्याल, सह संयोजकद्धय दिपक थापा र मोती प्रसाद भुसाल, प्रचार प्रसार संयोजक विष्णु प्रसाद पौडेल, पत्रकार महासंघ चितवनका सचिव तिर्थ नेपाल लगाएतको उपस्थिती रहेको थियो ।