एमाले केन्द्रीय समितिमा चितवनबाट १० जना

चितवन, १५ मङ्सिर  :

एमाले केन्द्रीय समितिमा चितवनबाट १० जना नेकपा (एमाले)को १०औँ राष्ट्रिय महाधिवेशनले जिल्लाका दुई उपाध्यक्षसहित १० जनालाई केन्द्रीय समितिमा निर्वाचित गरेको छ । महाधिवेशन संयोजन गरेको जिल्ला चितवनले यति धेरै केन्द्रीय समितिमा प्रतिनिधित्व पाएको पहिलो पटक हो ।

पार्टीको केन्द्रीय समिति ३०१ सदस्यीय छ । पार्टीको केन्द्रीय उपाध्यक्षमा सुरेन्द्रप्रसाद पाण्डे र रामबहादुर थापा निर्वाचित हुनुभएको छ । पाण्डे र थापा पूर्वमन्त्री हुनुहुन्छ । महाधिवेशन मूल व्यवस्थापन समितिको संयोजकमा थापा र सहसंयोजक पाण्डे रहनुभएको थियो ।

बागमती प्रदेशतर्फबाट पार्वती रावल केन्द्रीय कमिटी सदस्यमा निर्विरोध निर्वाचित हुनुभएको छ । उहाँ जिल्ला अध्यक्ष हुनुहुन्छ । एमाले चितवनका पूर्वअध्यक्ष जेएन थपलिया, निवर्तमान केन्द्रीय सदस्य सीता पौडेल, काशीनाथ अधिकारी, कपिल पोखरेल, देवी ज्ञवाली र राप्ती नगरप्रमुख प्रभा बराल केन्द्रीय सदस्यमा निर्वाचित हुनुभएको छ । त्यसैगरी दलित महिलातर्फ शिवकुमारी गोतामे केन्द्रीय समितिमा निर्वाचित हुनुभएको छ ।

केन्द्रीय सदस्य ज्ञवालीले यति धेरै सङ्ख्यामा केन्द्रीय समितिमा जिल्लाबाट प्रतिनिधित्व पहिलो पटक भएको बताउनुभयो । यही मङ्सिर १० गते नारायणगढस्थित नारायणी नदी किनारमा उद्घाटन भएको एमालेको १०औँ महाधिवेशनको बन्दसत्र सौराहामा सम्पन्न भएको थियो । बन्दसत्रमा सहमति गर्ने प्रयास गरिएको भए पनि असफल भएपछि निर्वाचन गरिएको थियो ।

निर्वाचनअघि अध्यक्ष केपी शर्मा ओलीले प्रस्ताव गर्नुभएका जिल्लाका १० नेता केन्द्रीय समितिमा निर्वाचित हुनुभएको हो । (रासस)

संबन्धित शिर्षकहरु

काँग्रेस संसदीय दलको वैठकमा पार्टीको भूमिका र सरकारका पछिल्ला गतिविधिबारे छलफल

आजदेखि पाकेको धानबाली भित्र्याउन सकिने, अबको केही दिन वर्षाको सम्भावना न्यून

नेपाल शिक्षक सङ्गठन, भरतपुर महानगर समितिको अध्यक्षमा सुनिल सिटौला चयन