मौसमी प्रणाली कमजोर बन्दै, हिजोअस्तिको जस्तो ठूलो पानी नपर्ने

काठमाडौं, २५ असोज : –

एक हप्ताअघिदेखि देशका सबैजसो ठाउँमा पानी पारेको मौसमी प्रणाली कमजोर बनेको छ । हिजोसम्म लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका धेरै ठाउँमा ठूलो वर्षा गराएको प्रणाली आजदेखि कमजोर भएको मौसमविद् विनु महर्जनले बताउनुभयो ।

आज लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका धेरै ठाउँमा बदली भएर केही ठाउँमा सामान्य वर्षाको सम्भावना रहेको र बेलुकीदेखि मौसम सफा हुँदै जाने उहाँले बताउनुभयो । काठमाण्डौ उपत्यकासहित पूर्वका क्षेत्रमा भने अझै तीन दिनसम्म मौसम बदली हुने सम्भावना रहेको छ ।

मौसम बदली भएर सामान्य पानी परे पनि ठूलो वर्षाको सम्भावना भने नरहेको मौसमविद् महर्जनले बताउनुभयो। अहिले देशभरको मौसम सामान्यदेखि पूर्ण बदली रहेको छ भने प्रदेश-१, वाग्मती र लुम्बिनी प्रदेशका एक–दुई ठाउँमा सामान्य पानी परिरहेको छ । बङ्गालको खाडीमा विकास भएको न्यून चापीय क्षेत्र सर्दै भारतको हरियाणा आसपासमा रहेको र त्यसको प्रभावले नेपालमा बदली भएको मौसमविद्ले बताएका छन् ।

पछिल्लो पटक पानी पारेको प्रणाली कमजोर बन्दै गएको र तत्काल अर्को प्रणाली नदेखिएकोले अब केही दिनमा नेपालबाट मनसुन बाहिरिने सम्भावना रहेको पनि मौसमविद् महर्जनले बताउनुभयो।

संबन्धित शिर्षकहरु

कपडा कारखानामा आगलागी हुँदा ८ जनाको मृत्यु

डाटा सेन्टरमा प्राविधिक समस्या, शेयर बजार बन्द

राष्ट्रिय सभाको बैठक आज बस्दै