महाशिवरात्रिमा पशुपति आएका साधुसन्तको बिदाइ आज, दक्षिणामा ८ देखि १० लाख रुपैयाँ खर्च हुने

काठमाडौं, ८ फागुन :

महाशिवरात्रिका लागि पशुपति आएका साधुसन्तको बिदाइ आज हुँदैछ । बिहान ११ बजेपछि पशुपति प्राङ्गणबाट बिदाइ गरिने पशुपति क्षेत्र विकास कोषले जनाएको छ । कोषका प्रवक्ता रेवती रमण अधिकारीका अनुसार ४ हजारभन्दा धेरै साधु सन्तको बिदाइ गरिँदै छ ।

शिवरात्रिका लागि पशुपति आएका साधुसन्तलाई वरिष्ठताका आधारमा रुद्राक्षको मालासहित पाँच सय रुपैयाँदेखि ८ हजार रुपैयाँसम्म दक्षिणा दिइन्छ । भारतलगायत विभिन्न देशबाट आएका साधुसन्तलाई पशुपति क्षेत्र विकास कोष र गुठी संस्थानले परम्पराअनुसार बिदाइ गर्ने चलन छ ।

साधुसन्तको दक्षिणाका लागि ८ देखि १० लाख रुपैयाँ छुट्टाइएको पनि कोषले जनाएको छ । पोहोर र परारको तुलनामा यसपालि पशुपतिमा आउने साधुसन्तको सङ्ख्या बढेको कोषले जनाएको छ । यस्तै, महाशिवरात्रिका अवसरमा पशुपतिमा सङ्कलन भएको भेटीको गणना सुरु भएको छ ।

हिजोदेखि भेटी गन्न थालिएको र गणना सक्न अझै ५–६ दिन लाग्ने कोषले जनाएको छ । यसपालि १५ लाख रुपैयाँ भेटी सङ्कलन भएको हुन सक्ने अनुमान गरिएको छ । अस्ति शनिवार परेको महाशिवरात्रिमा १५ लाखभन्दा धेरै भक्तजन पशुपति मन्दिर पुगेका र सात लाख जनाले मूल मन्दिरको नै दर्शन गरेका पशुपति क्षेत्र विकास कोषले जनाएको छ।

संबन्धित शिर्षकहरु

भूकम्पपछि भेनेजुएलामा मानवीय सङ्कट गहिरिँदै गएको राष्ट्रसंघको भनाइ

अल्जेरियालाई हराउँदै स्विट्जरल्यान्ड विश्वकपको अन्तिम १६ मा

क्रोएसियालाई हराउँदै पोर्चुगल विश्वकपको अन्तिम १६ मा