काठमाडौं, २१ कार्तिक :
जयनगर–कुर्था रेलमार्गमा आजदेखि निर्धारित सिफ्टभन्दा बाहेकको समयमा पनि रेल चल्ने भएको छ । भोलि कात्तिक पूर्णिमाको अवसरमा कमला नदीमा नुहाउन जाने तीर्थालुको सुविधालाई ध्यान दिँदै पर्सि बुधवारसम्म निर्धारित सिफ्टभन्दा बाहेकको समयमा पनि रेल सञ्चालन गर्न लागिएको हो ।
कात्तिक पूर्णिमाको लागि कमला नदीमा स्नान गर्न देशका विभिन्न ठाउँ र भारतबाट समेत तीर्थयात्रीहरु पुग्ने गर्छन् । तीन दिन यात्रुको चाप बढ्नसक्ने भएकाले निर्धारित सिफ्टभन्दा बाहेकको समयमा पनि रेल सेवा सञ्चालन गर्न लागिएको नेपाल रेल्वे कम्पनीका प्रबन्ध सञ्चालक निरञ्जनकुमार झाले बताउनुभयो ।
जतिबेला यात्रु हुन्छन्, त्यतिबेला नै रेल सञ्चालन हुने उहाँले बताउनुभयो । जयनगरबाट महोत्तरीको बर्दिबाससम्म ७० किलोमिटर निर्माणाधीन रेलमार्गमध्ये जयनगरबाट कुर्थासम्म ३५ किलोमिटर रेलमार्गमा गएको चैतदेखि नियमित रेल सेवा सञ्चालन हुँदै आएको छ ।





