पूर्वी चितवनमा पुस २९ गतेदेखि हुने ‘खिचरा महोत्सव’ हुने

चितवन, २४ मंसिर  :

पूर्वी चितवनमा पुस २९ गतेदेखि माघ ९ गते सम्म ‘खिचरा महोत्सव’ हुने भएको छ । थारु संस्कृतिको संरक्षण गर्ने लक्ष्यसहित थारु समुदायको मुख्य पर्व माघी (खिचरा) को अवसर पारेर महोत्सव गर्न लागिएको हो । ‘राष्ट्रिय एकता र विविधता हाम्रो शान : बहुजाति, भाषा, संस्कृति नेपालको पहिचान’ भन्ने नाराका साथ खिचरा महोत्सवको आयोजना गर्न लागिएको आयोजकले पत्रकार सम्मेलन गर्दै जानकारी दिएको हो ।

महोत्सव खैरहनी नगरपालिका वडा नं ५, दुर्गा मन्दिर जवकौलीस्थित गौचरनमा हुने आयोजकले बताएको छ । खैरहनीमा वर्षेनी सञ्चालन हुँदै आएको खिचरा महोत्सव विश्वव्यापीरुपमा फैलिएको कोभिड–१९ को महामारीका कारण महोत्सव सञ्चालन हुन सकेको थिएन तर यसवर्ष महोत्सव हुँदैछ । थारु समुदायको संस्कृति, खानाका परिकारको संरक्षण गर्ने मुख्य उदेश्यका साथ महोत्सव आयोजना गर्न लागिएको महोत्सव आयोजक मूल समितिका संयोजक कृष्णलाल चौधरीले बताए । उनका अनुसार पर्यापर्यटन, विविध भाषा, जातजाति, संस्कृतिको संरक्षणमार्फत आन्तरिक पर्यटन तथा व्यापार व्यवसायको प्रवद्र्धन गर्ने, थारु संग्राहलय तथा अनुसन्धान केन्द्र व्यवस्थापन र सञ्चालन गर्न, कृषि उपजको बजारीकरण्लाई प्रोत्साहन गर्न, गरिव तथा जेहेन्दार विद्यार्थीका लागि छात्रवृत्ति अक्षय कोषमा टेवा पु¥याउन तथा भाइचारा र आपसी सद्भाव कायम गर्न महोत्सव सफल हुनेछ ।

महोत्सवमा थारुलगायत अन्य समुदायको परम्परागत भेषभुषासहितको संस्कृति प्रर्दशन, थारु खानाका विशेष परिकारको स्टल, हस्तकलाका सामग्रीका स्टल, खुल्ला हाजिरी जवाफ प्रतियोगिता हुने र व्यवसायिक स्टल रहनुका साथै तराइका विभिन्न जिल्लाका थारु विषेश सांस्कृतिक प्रस्तुति रहने छन् । महोत्सव अवलोकनका ५० रुपैयाँ र विद्यार्थीका लागि परिचयपत्रका आधारमा ३० रुपैयाँ तोकिएको छ । थारु कल्याणकारीणी सभाको आयोजनामा २०७० सालदेखी पूर्वी चितवनको खैरहनीमा ‘खिचरा महोत्सव’ हुदैआइरहेको छ ।

संबन्धित शिर्षकहरु

कपडा कारखानामा आगलागी हुँदा ८ जनाको मृत्यु

डाटा सेन्टरमा प्राविधिक समस्या, शेयर बजार बन्द

राष्ट्रिय सभाको बैठक आज बस्दै