बागमतीमा सभामुख र उपसभामुखको उम्मेदवारी दर्ता पुस २८ गते

मकवानपुर, २० पुस :

बागमती प्रदेशसभाको सभामुख र उपसभामुख पदको निर्वाचनको लागि यही पुस २८ गते बिहान उम्मेदवारी दर्ता गर्न समय निर्धारण गरिएको प्रदेशसभा सचिवालयले आज जनाएको छ ।

सभामुख र उपसभामुख पदको निर्वाचनको कार्यसूची अनुसार, पुस २८ गते बिहान १०ः३० बजेदेखि २ बजेसम्म आ–आफ्नो उम्मेदवारी दर्ता गर्ने समय निर्धारण गरिएको छ ।

यसैगरी, उक्त दिनको २ः३० बजेदेखि ३ः३० बजेसम्म उम्मेदवारले नाम फिर्ता लिने समय तोकिएको छ । यसैगरी, सोही दिनको अपराह्न ४ बजेभित्र सभामुख र उपसभामुख पदको उममेदवार दर्ता गरिएको अन्तिम नामावलीको सूची प्रकाशन गर्ने कार्यतालिका रहेको प्रदेशसभा सचिवालयका प्रवक्ता मनोजकुमार गुप्ताले जानकारी दिनुभयो ।

सभामुख र उपसभामुख पदको उम्मेदवारी निर्विरोध भएमा वा मतदान गर्नुपरेमा पुस २९ गते दिनको ११ बजे प्रदेशसभाको बैठक बोलाइएको छ भने सोही दिन चुनावी परिणाम घोषणा गर्ने कार्यसूची रहेको प्रदेशसभा सचिवालयका प्रमुख सचिव कृष्णहरि खड्काले बताउनुभयो ।

बागमती प्रदेशसभामा अहिले नेपाली कांग्रेसको ३७, नेकपा एमालेका २७, नेकपा माओवादी केन्द्रका २१, राष्ट्रिय प्रजातन्त्र पार्टीका १३, नेकपा एकीकृत समाजवादीका सात, नेपाल मजदुर किसान पार्टीका तीन र हाम्रो नेपाली पार्टीका दुई गरी एक सय १० जना प्रदेशसभाका सदस्य हुनुहुन्छ । रासस

संबन्धित शिर्षकहरु

भूकम्पपछि भेनेजुएलामा मानवीय सङ्कट गहिरिँदै गएको राष्ट्रसंघको भनाइ

अल्जेरियालाई हराउँदै स्विट्जरल्यान्ड विश्वकपको अन्तिम १६ मा

क्रोएसियालाई हराउँदै पोर्चुगल विश्वकपको अन्तिम १६ मा