काठमाडौं, २१ पुस :
काठमाडौंमा जारी नेपाल टी–ट्वान्टी लिग क्रिकेट प्रतियोगितामा बिहीबार दुई खेल हुँदैछन् । दुवै खेल कीर्तिपुरस्थित टियु मैदानमा हुनेछ । बिहीबारको पहिलो खेल जनकपुर रोयल्स र पोखरा एभेन्जर्सबीच खेल हुँदैछ । खेल बिहान ९ बजेबाट सुरु हुनेछ । जनकपुर बिहीबारको खेल जितेर प्लेअफमा आफ्नो स्थान बनाउन चाहान्छ ।
पोखरालाई भने प्लेअफको सम्भावना कायमै राख्न बिहीबारको खेल जित्नै पर्ने हुन्छ । १० अंक सहित जनकपुर अंक तालिकाको दोस्रो स्थानमा रहेको छ । ६ अंक सहित पोखरा चौथो स्थानमा रहेको छ । यही संस्करणको पहिलो भेटमा जनकपुरले पोखरालाई ५ विकेटले हराएको थियो । बिहीबार नै हुने दोस्रो खेल काठमाडौं नाईट्स र फार वेस्ट युनाईटेडबीच खेल हुँदैछ । खेल दिउसो १ बजेबाट सुरू हुनेछ । काठमाडौं यो खेल जितेर प्लेअफको सम्भाबना मजबुत बनाउन चाहान्छ ।
फार वेस्टका लागि प्लेअफको झिनो सम्भावना कायमै राख्न यो खेल जित्नै पर्नेछ । ८ अंकका साथ काठमाडौं अंक तालिकामा तेस्रो स्थानमा रहेको छ । २ अंकका साथ फार वेस्ट पुछारमा रहेको छ ।





