काठमाडौँ, २७ माघ :
प्रतिनिधिसभा नियमावली मस्यौदा समितिको म्याद ७ दिन थपिएको छ।
समितिका ज्येष्ठ सदस्य चित्रबहादुर केसीले शुक्रबार दोस्रो पटक बसेको प्रतिनिधिसभा बैठकमा समितिको म्याद थप्न पेश गरेको प्रस्ताव सर्वसम्मतीले पारित भएको हो। बैठकमा ज्येष्ठ सदस्य केसीले प्रतिनिधिसभा नियमावलीको प्रारम्भिक मस्यौदा तयार भएको तर त्यसलाई पूरा गर्न ७ दिन लाग्ने निर्णय समितिबाट भएकाले सोही प्रस्ताव आफूले प्रतिनिधिसभा बैठकमा पेश गरेको स्पष्ट पारेका थिए।
गत माघ १० गते २१ सदस्यीय सो समिति गठन गरिएको थियो। समितिलाई कार्य प्रारम्भ भएको मितिले १५ दिनभित्र सो मस्यौदा प्रतिनिधिसभामा पेश गर्ने कार्यादेश दिइएको थियो। गत माघ १३ गतेदेखि काम थालेको समितिको म्याद आजै (शुक्रबार) सकिँदै थियो।
प्रतिनिधिसभाको अर्को बैठक माघ २९ गते आइतबार दिउँसो ३ बजेका लागि बोलाइएको छ।





